१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

राष्ट्रिय सभाका एकतिहाइ सदस्यको निर्वाचन माघ १५ भित्र

१३ मंसिर, काठमाडौं राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचन प्रक्रिया अघि बढाउन संसद् सचिवालयले निर्वाचन आयोगलाई पत्रचार गरेको छ । फागुन २० गतेदेखि १९ सदस्यको पद रिक्त हुने भएपछि सचिवालयले आयोगलाई पत्र पठाएर निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेको हो ।

सदस्यहरुको पद रिक्त हुनु ३५ दिनअघि नै निर्वाचन गराइसक्नुपर्ने राष्ट्रियसभा सदस्य निर्वाचन ऐनको दफा ५५ मा उल्लेख छ । यसअनुसार माघ १५ गतेभित्र निर्वाचन गरिसक्नुपर्छ । राष्ट्रियसभाको पहिलो बैठक २०७४ फागुन २१ गते बसेकाले सोही मितिबाट पदावधि गणना हुन्छ । प्रत्येक दुई वर्षमा एकतिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ । सोही अनुसार एकतिहाइ सदस्यको पदावधि फागुन २० गते पूरा हुँदै छ ।

५९ सदस्य रहेको राष्ट्रियसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट ४२, नेपाली कांग्रेसबाट १३, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबाट दुई-दुईजना सदस्य छन् । राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ भन्ने संविधानको व्यवस्थाअनुसार उनीहरुको यसअघि नै गोलाप्रथाद्वारा कार्यकाल विभाजन गरिएको थियो ।

यसअनुसार प्रदेश १ मा कांग्रेस १ र नेकपा २ गरी तीन, प्रदेश २ मा कांग्रेस १, राजपा २ र समाजवादी १ गरी चार पद खाली हुँदैछन् । प्रदेश ३ मा नेकपा १ कांग्रेस १ गरी २ जनाको पद खाली हुँदै छ ।

गण्डकी प्रदेशमा कांग्रेसका २ जना सदस्यको पद खाली हुँदै छ । प्रदेश ५ मा कांग्रेसबाट १ र नेकपाबाट २ जनाको पद खाली हुँदै छ । सुदूरपश्चिम प्रदेशबाट कांग्रेसबाट १ र नेकपाबाट १ गरी २ जनाको खाली हुँदै छ । राष्ट्रपतिबाट मनोनीत एकजनाको पनि पद खाली हुन लागेको खबर नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति : 07:51