२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

ग्यास बुलेटमा व्यवसायीको २ अर्ब डुब्यो


१३ मंसिर, काठमाडौं भारतीय पक्षको आनाकानीले नेपाली ग्यास व्यवसायीको डेढ अर्बभन्दा बढी लगानी डुबेको छ । संविधान जारीलगत्तै भारतले लगाएको नाकाबन्दीबाट ‘पाठ’ सिकेर तत्कालीन केपी शर्मा ओली सरकारले भारतबाट ग्यास आयात गर्न आफ्नै ढुवानी गर्ने साधन ‘बुलेट’ राख्ने निर्णय गरेको थियो । बुलेट निर्माण गर्दा दुईतिहाइ भन्सार छुटसमेत दिइएको थियो ।

सरकारले उपलब्ध गराएको सुविधाका कारण हौसिएका ग्यास व्यवसायीले आयल निगमबाट ७ सय ७२ वटा बुलेटका लागि अनुमति पाए । उनीहरूले एक थान बुलेटका लागि नगद १५ हजारका दरले १ करोड १५ लाख ८० हजार रुपैयाँ निगममा धरौटीबापत बुझाएको खबर अन्नपूर्ण पोस्टमा छ ।

अनुमति लिएकामध्ये ५५ बुलेट निर्माण भएर ३ वर्षदेखि थन्किएका छन् । ५३ बुलेट भारतका हरियाणा, राजापुर, बडौंदा, पुणे र दिल्लीमा छन् । बाँकी २ बुलेट नेपाल भित्रिए पनि सञ्चालनमा आउन सकेका छैनन् ।

राजधानीस्थित टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदीमा ५० करोड अग्रिम भुक्तानी गरी व्यवसायीले थप ४ सय ९ बुलेट बुकिङ गरेका छन् । बुकिङ भएका च्यासिस भने व्यवसायीले ल्याएका छैनन् । च्यासिस खरिदसहित एउटा बुलेट निर्माणमा ७० लाख रुपैयाँ खर्च भएको थियो ।

ग्यास ढुवानीका क्षेत्रमा भारतीय व्यवसायीको एकाधिकार, दबदबा, आर्थिक चलखेल र माथिल्लो निकायसम्मको पहुँचका कारण नेपाली नम्बर प्लेटका बुलेट सञ्चालनमा आउन नसकेका हुन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार ०७:३८