६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

द्रुतमार्ग निर्माणमा छानिए ६ परामर्शदाता कम्पनी


१३ मंसिर, काठमाडौं काठमाडौँ–तराई द्रुतमार्ग सडक आयोजनाले द्रुतमार्ग निर्माणका लागि परामर्शदाता छनोट प्रक्रिया अगाडि बढाएको छ । कुल २२ कम्पनीले प्रतिस्पर्धा गरेकामा ६ कम्पनी छनोटमा परेका छन् ।

आयोजनाले परामर्शदाता छनोटका लागि कम्पनीहरूको सङ्क्षिप्त सूची सार्वजनिक गरेसँगै आयोजनाको कार्य अगाडि बढ्ने खबर गोरखापत्र दैनिकमा छ । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले द्रुतमार्ग निर्माणका लागि परामर्शदाता चयन गर्न बोलपत्र भरेका कम्पनीहरूमध्ये सङ्क्षिप्त सूचीमा परेका ६ विदेशी कम्पनीको नाम सार्वजनिक गरिएको जानकारी दिए ।

परामर्शदाता छनोटका लागि आयोजनाले बोलपत्र आह्वान गर्दा २२ विदेशी कम्पनीले बोलपत्र भरेका थिए । परामर्शदाता छनोटका लागि कात्तिक २० गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो ।

सङ्क्षिप्त सूचीमा योसिन इन्जिनियरिङ कर्पोरेसन, कोरिया एक्सप्रेस वे कर्पोरेसन कोरिया र फुङ्वा इन्जिनियरिङ कन्सल्ट्यान्ट लिमिटेड, कोरिया (संयुक्त भेन्चर, जेभी), चाइना रेलवे इर्वान इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड परेका छन् । यसैगरी पीईसी र डचल्यान्ड प्लानिङ इन्जिनियरिङ कन्सल्टिङ सर्भिस जर्मनी (संयुक्त भेन्चर, जेभी), जर्मनीको जेभी र अस्ट्रेलियाको एसएमईसी, कोरियाको डोङ्सुङ इन्जिनियरिङ र कोरिया इन्जिनियरिङ कन्सल्टेन्सीको जेभी सूचीकृत भएको नेपाली सेनाले जनाएको छ ।

त्यसैगरी सिङ्गापुरको मेनहार्ड, कोरियाको योङ डोङ इन्जिनियरिङ र कोरिया कन्सल्टेन्सी इन्टरनेसनलको जेभी, स्पेनको स्पेस्टिसा सर्भिस र कोरियाको सोसुङ इन्जिनियरिङ कम्पनी र कोरियाको द सन कन्सल्ट्यान्ट र रिट्स लिमिटेड, भारतको संयुक्त भेन्चर, जेभी सङ्क्षिप्त सूचीमा परेका हुन् ।

सङ्क्षिप्त सूचीमा सूचीकृत भएका कम्पनीहरूसँग आर्थिक र प्राविधिक प्रस्ताव माग गरिने बताउँदै प्रवक्ता पाण्डेले प्राप्त प्रस्तावहरू मूल्याङ्कन गरी उपयुक्त कम्पनीलाई आयोजनाको परामर्शदाता चयन गरिने जानकारी दिए । छनोट प्रक्रियाभन्दा पहिला नै मूल्याङ्कन मापदण्ड चुहाएको भन्दै परामर्शदाता कम्पनी चयनका लागि यसअघि गरिएको बोलपत्र आह्वान रद्द गरिएको थियो । अब चयन हुने परामर्शदाताले अहिलेसम्म भएका कामहरूको अध्ययन गर्नुका साथै अब गरिने कामबारे सुझाव दिनेछन् । १ अर्ब रुपैयाँभन्दा बढीका परियोजनामा सरकारी नियमअनुसार विदेशी परामर्शदाता राख्नुपर्ने हुन्छ । भदौ २ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरियाको सुसुङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनीले तयार गरेको डीपीआर स्वीकृत गरेको थियो ।

राजधानीलाई बढीमा डेढ घण्टाको समयमा तराईसँग जोड्ने यो द्रुतमार्ग बाराबाट नारायणगढ–मुग्लिन-काठमाडौँ खण्ड (२६० किमि) भन्दा १८० किमि छोटो दूरीको हुनेछ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार ०७:१७