६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

नेपालको तरकारी यूएई र कतारमा


१३ मंसिर, काठमाडौं संयुक्त अरब इमिरेट्स् (यूएई) र कतारमा नेपालबाट श्रम मात्र होइन, तरकारी पनि निर्यात हुन थालेको छ । यूएई र कतारमा नेपाली श्रमिकलाई मात्र होइन, नेपाली तरकारीलाई पनि रुचाइन थालिएको छ । नेपालको एक कम्पनीले यहाँ उत्पादित गुन्द्रुकदेखि हरियो तरकारी ती देशसम्म पठाउँदै आएको छ ।

महँगी र अभावका कारण मागअनुसार पठाउन नसकिए पनि सातामा दुईपटक ६-७ टन तरकारी पठाउने गरेको अलसमन इन्टरनेसनल नेपालका निर्देशक कल्याण घिमिरे बताउँछन् । झन्डै १ वर्षदेखि साताको आइतबार र बुधबार मात्र पठाउने गरेको बताउँदै उनले कतारमा १५ हजार टन नेपाली तरकारी माग रहेको जानकारी दिए । तर यहाँ नै तरकारीको अभाव हुँदा मागअनुसार पठाउन नसकेको उनको भनाइ उद्धृत गर्दै गोरखापत्र दैनिकमा खबर छ ।

भदौदेखि यूएई पनि पठाउन थालिएको छ । त्यहाँ दैनिक ३ देखि ४ हजार टन तरकारी पठाउने सम्झौता भएको छ तर उत्पादन कम भएका कारण अहिले मागअनुसार पठाउन नसकिएको उनले बताए ।

त्यहाँका मलमा नेपाली तरकारी भनी ‘लेबल’ राखेर नै बेचिरहेको देख्दा खुसी लागेको बताउँदै उनले वैशाखदेखि १० हजार टन तरकारी कतार लैजाने तयारी भइरहेको बताए । नेपाल आफैं तरकारीमा आत्मनिर्भर छैन । भारतलगायत मुलुकबाट आयात भएपछि मात्र छाक टार्छ । यस अवस्थामा नेपालमा मात्र उत्पादन हुने तरकारी अरब, कतारसम्म पुर्‍याउनु चुनौती रहेको उनले बताए ।

भारतलगायत अरू देश तथा तराई मधेसमा उत्पादन हुने तरकारीसमेत लगेका छैनौं, काठमाडौं वरपर उत्पादन हुने मात्रै लगेके उनको दाबी छ ।

अहिले कम्पनीका आफ्नै तरकारी फार्म छन् । काठमाडौँको रामकोट, दहचोक, ललितपुरको लामाटोलमा आफ्नै कृषि फार्म छन्, त्यसबाट उत्पादन भएको तरकारीले पनि नपुगेको बताउँदै उनले एउटा ठूलै लगानीको फार्म खोल्न तयारी भइरहेको बताए ।

नेपालमा उत्पादन भएका गुन्द्रुकदेखि भन्टा, एलोभेरा, तितेकरेला, भिन्डी, गाँजर, लौका, फर्सी, काउली, बन्दा, गोलभेडालगायत अन्य तरकारी कम्पनीले निर्यात गर्दै आएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार ०६:४१