प्रमाण पुगेको जमिनको मात्रै दाबी गरेका छौँ, अर्काको जमिन १ इन्च पनि चाहिँदैन: मन्त्री बास्कोटा
१२ मंसिर, काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपालले अर्काको जमिन १ इन्च पनि नलिने बताएका छन् । बिहिबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै बास्कोटाले भने, ‘हामीले विभिन्न प्रमाण पुगेको जमिनको मात्रै दाबी गरिरहेका छौँ, प्रमाण नपुगेको जमिन १ इन्च पनि चाहिँदैन ।’

मन्त्री बास्कोटाले ऐतिहासिक दस्तावेज, भारतीय राजपत्र, नक्सा लगायतका विभिन्न प्रमाणहरूले लिम्पियाधुरासम्म नेपालकै भएको देखाएको र नेपालले यससम्बन्धी प्रमाण वार्ताको टेबुलमा राख्ने बताए । मन्त्री बास्कोटाले सुगौली सन्धिको धारा पाँचमा उल्लेख भएको काली नदीको मुहान विज्ञानको सिद्धान्त अनुसार तय हुनुपर्ने समेत बताए । मन्त्री बास्कोटाले भारतले हाम्रो सार्वभौमसत्ता स्वीकार गर्नुपर्ने बताउँदै विवाद समाधानका लागि सरकारले कुटनीतिक पहल शुरु गरिसकेको जानकारी दिए ।
प्रकाशित मिति : 16:04









