१४ जेष्ठ २०८१, सोमबार | Mon May 27 2024

धान पाक्यो, कसरी भित्र्याउने ?


१२ मंसिर, सिरहा रोजगारीका लागि युवा विदेशिने क्रम बढेसँगै यहाँको मुख्य बाली धान भित्र्याउने समयमा सिराहामा कृषि मजदुरको अभाव देखिएको छ । मजदुर अभावले मंसिर आधा हुनलाग्दा पनि कृषकले धान भित्र्याउन सकेका छैनन् ।

घरका युवा विदेशिएका कारण धान कटनी र थन्क्याउने जिम्मेवारी अहिले महिला र वृद्धवृद्धाको काँधमा परेको छ । ‘धान कटनी र थन्क्याउन कृषि मजदुर नै पाइँदैन, २ बिघामा धान खेती गरेका बथनाहाका वृद्ध कृषक सीताराम साहले भने, ‘छोराहरू बाहिर छन्, आफूले काम गर्न सक्दिनँ । बूढी श्रीमती र बुहारीले धानको काम गरिरहेका छन् ।’

रोपाइँका बेला मजदुर पाउँदा खेतीपाती गर्न त सहज भयो तर अहिले मजदुर अभावले धान कटनीमा समस्या आएको उनले बताए ।

बथनाहाका ६९ वर्षीय गंगाराम साफी आफ्नी पत्नी र बुहारी भने धान धाट्दै गर्दा खेतमा भेटिए । उनले भने, ‘दुई छोरामध्ये जेठो जागिरमा र कान्छो वैदेशिक रोजगारका लागि कतार गएकाले वृद्ध उमेरमा समेत सुख पाइएको छैन ।’

यो मौसममा सीताराम र गंगाराम मात्र खेतबारीमा भेटिँदैनन्, गाउँका सबै वृद्धवृद्धा खेतबारीमा सकी नसकी काम गरिरहेका देखिन्छन् । कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार सिरहामा रोपाइँ भएको ५८ हजार हेक्टर धान खेतमा अहिलेसम्म मुस्किलले २५ प्रतिशतले मात्र धान थन्क्याउन सकेको गोरखापत्र दैनिकमा खबर छ । उत्पादित धान असोज अन्तिम सातादेखि नै कृषकले भित्र्याउन थाले पनि मजदुर अभावले समस्या परेको छ ।

सिरहामा २ दशमलव ४ टन प्रतिहेक्टरको दरले १ लाख ३९ हजार टन धान उत्पादन हुनसक्ने केन्द्रको दाबी छ । तर उत्पादन भइसकेको धान पनि भित्रिन नसक्दा यसले आउँदो हिउँदे बालीमा असर पुग्ने चिन्ता छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार ०८:१९