६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

बैंकमा पनि रकम सुरक्षित छैन !


१२ मंसिर, काठमाडौं सर्वसाधारणले अत्यधिक विश्वास गर्दै आएको बैंकिङ क्षेत्रमा पछिल्लो समय देखिएका विभिन्न बैंकिङ सुरक्षा समस्याले बचतकर्तालाई द्विविधामा पार्न थालेको छ । बैंककै कर्मचारीको प्रत्यक्ष संलग्नता तथा गलत मनोवृत्ति र प्रविधिले भित्र्याउँदै आएका विकृतिले यस्ता समस्या बढ्दै गएका छन् ।

बैंकिङ विज्ञ अनलराज भट्टराई बैंकमा पैसा छ, सुरक्षित छ भनेर बस्न नहुने सुझाव दिन्छन् । पछिल्लो बैंकिङ ठगीको शृङ्खलालाई हेर्दा बैंकको प्रणालीमा कमजोरी देखिएको नभई मानवीय गलत नियत र प्रविधिको दुरुपयोग बढी देखिएको भन्दै उनले यस्ता समस्या न्यूनीकरणका लागि बचतकर्तामा पनि सचेतना आउनुपर्ने बताए ।

बैंकमा पैसा छ, सुरक्षित छ भनेर ढुक्क भएर बस्न नहुने भन्दै उनले पछिल्ला सुविधा एसएमएस बैंकिङ सुविधा अवलम्बन गर्नुका साथै खातामा रहेको रकमबारे अपडेट हुनुपर्नेमा जोड दिए । पछिल्लो समय आक्रामक ढंगले शाखा सञ्जाल बढाउनतिर लागेका बैंक तथा वित्तीय संस्थामा मानव संशाधनको पक्ष फितलो हुँदै गएका कारण बैंकिङ प्रणाली नै नबुझेकाहरू पनि बैंकमा जागिर खान पुग्दा त्यसको समस्याले समग्र बैंकको साख नै समस्यामा पर्ने गरेको उनको अनुभव छ ।

बैंकमा सक्षम कर्मचारीभन्दा पनि कर्मचारी भए पुग्ने अवस्था आएको छ । पछिल्लो २ वर्षमा २ हजारभन्दा बढी शाखा थपिएका छन् सुरक्षा गार्डसमेत एउटा शाखामा १० जनाकै दरले हेर्ने हो २० हजार नयाँ कर्मचारी भर्ना भएको देखिन्छ । सबैमा गुणस्तर कायम भएको छ भन्न सक्ने अवस्था नरहेको गोरखापत्र दैनिकमा खबर छ ।

बैंकमा राखेको पैसा बैंककै कर्मचारीको लापरबाहीबाट अर्कै व्यक्तिले पैसा झिकेर हिँड्ने खालका प्रवृत्ति बढ्नुले एकातिर बैंकको सेवामा सर्वसाधारणको विश्वास घट्दै गएको छ भने अर्कोतिर बैंकमा राम्रो काम गरिरहेका कर्मचारीलाई पनि शङ्काको घेरामा पार्ने देखिएको छ । ३ महिनाअगाडि चिनियाँ ह्याकरले एटीएमको स्विच ह्याक गरेर करोडौं निकालेका थिए ।

कृषि विकास बैंक र पानस रेमिटको सफ्टवेयर ह्याक गरेर असोजमा रकम निकालिएको थियो । उनीहरूको पाँच अर्ब रुपियाँ निकाल्ने योजना प्रहरीको सक्रियताले तुहाइदिएको थियो । ती घटनामा संलग्न चिनियाँसहित नेपाली पनि अहिले पनि कारबाहीका लागि थुनामा रहेका छन् ।

जनता बैंकबाट नक्कली हस्ताक्षर गरी चेक बनाएर रकम चोरी गर्ने गिरोहबाट प्रहरीले ४ वाणिज्य बैंक र २ विकास बैंक गरी ६ बैंकका ग्राहकको नक्कली चेकसमेत बुधबार बरामद गरेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार ०७:५७