६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

अब सेनाले नै विस्फोटक पदार्थ उत्पादन गर्ने


१२ मंसिर, काठमाडौं मुलुकलाई विस्फोटक पदार्थमा आत्मनिर्भर बनाउन नेपाली सेनाले थप विस्फोटक पदार्थ उत्पादन गर्ने भएको छ । त्यसका लागि मकवानपुरको सुनाचरीमा नयाँ कारखाना स्थापना गरिनेछ ।

नयाँ कारखानाले राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माणमा पनि सहयोग गर्ने सेनाको विश्वास छ । सुनाचरीमा स्थापित नयाँ कारखानाको उत्पादन क्षमता प्रतिवर्ष २ हजार ४ सय टन रहेको सेनाले जनाएको छ । अहिले विस्फोटक पदार्थको वार्षिक माग करिब ५ हजार टन रहेको गोरखापत्र दैनिकमा खबर छ ।

सेनाद्वारा बुधबार आयोजित ‘नेपाली सेनाको उद्योगहरूबाट उत्पादित विस्फोटक पदार्थको वितरण सहजीकरण’ विषयक अन्तर्क्रिमा नेपाली सेना, रक्षा उत्पादन (डिफेन्स प्रोडक्सन) विभागका महानिर्देशक अजितवरसिंह थापाले विस्फोटक पदार्थको माग वार्षिक ५ हजार टनभन्दा बढी भएको अवस्थामा सेनाले नयाँ प्लान्टको स्थापना गरी माग पूरा गर्ने बताए ।

नयाँ प्लान्टबाट उत्पादित विस्फोटक पदार्थ अन्तर्राष्ट्रिय स्तरको रहेको र यसले नेपालको जुनसुकै भूगोलमा समेत काम गर्न सक्ने उनको भनाइ छ ।

अन्तर्क्रियामा सेनाका तर्फबाट सुनाचरी इमल्सन प्लान्टमा हालै मात्र आधुनिक मेसिन जडान गरी २४ सय टनको उत्पादन क्षमता, गुणस्तर र मागबमोजिम क्रमिक रूपमा आपूर्ति गर्दै जाने तथा सरल र व्यवहारिक स्वीकृति प्रक्रिया एवं एउटै कार्यालयबाट उत्पादित विस्फोटक पदार्थ सहज रूपमा प्राप्त हुनेसम्बन्धी प्रस्तुतीकरण गरिएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार ०७:३६