गैंडा गणनाका लागि हात्ती तयार गरिँदै
१२ मंसिर, काठमाडौं । वन्यजन्तुका चिकित्सक डा. विजयकुमार श्रेष्ठ यतिबेला चितवन निकुञ्जको देवनगर पोस्टमा हात्तीको नङ कटाउँदै छन् । हात्तीको स्वास्थ्य परीक्षण पनि हुँदै छ । उनलाई खोरसोरका कर्मचारी बुधन चौधरीलगायतले सघाइरहेका छन् ।
“हात्तीमा क्षयरोग लागे-नलागेको परीक्षण गर्दै जुकाको औषधि दिँदैछौँ,” श्रेष्ठले भने, “बलिया र कमजोर हात्ती छनोट पनि गर्दैछौँ ।” यसैगरी निकुञ्जका विभिन्न पोस्टमा रहेका हात्तीको उनले स्वास्थ्य परीक्षण गरिरहेका छन् । हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका हात्तीको दक्षता वृद्धिसँगै स्वास्थ्य र आहारामा विशेष ध्यान दिइँदै छ ।

यो सबै कुनै विशेष उत्सवका लागि भने होइन, आउँदो चैतमा हुने गैंडा गणनाका लागि हात्ती तयार पारिन थालिएका हुन् । एकसिङ्गे गैंडा पाइने चितवन जस्तै पर्सा, बर्दिया, शुक्लाफाँटामा पनि यसैगरी तयारी हुँदै छ । हरेक ४ वर्षमा हुने गैंडा गणनाअनुसार यस वर्ष गणना हुन लागेको हो । यसअघि सन् २०१५ मा गैंडा गणना भएको थियो ।
क्यामरा ट्र्यापिङ गर्न होस् वा प्रत्यक्ष जङ्गलमा विचरण गरेर नै किन नहोस्, गैंडाको वर्तमान अवस्था पत्ता लगाउन हात्ती चढेर गणकहरूले काम गर्छन् । जङ्गलका सबै क्षेत्रमा कच्चा सडक नभएकाले पनि हात्तीको प्रयोग बढी हुन्छ । सबैभन्दा धेरै गैंडा चितवनमै भएकाले विशेष तयारी चलिरहेको गोरखापत्र दैनिकमा खबर छ ।
त्यस्तैगरी गैंडाको अवस्थिति रहेको बर्दिया, पर्सा र शुक्लाफाँटा निकुञ्जमा पनि गैंडा गणनाको तयारी तीव्र छ । गैंडा गणना गर्ने मिति तय नभए पनि चैतमै गैंडा गणना सुरु हुने वन्यजन्तु संरक्षण तथा निकुञ्ज विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।
हालको सतही अवलोकनमा गैंडाको अवस्था राम्रो देखिएको छ । तथापि यकिन तथ्यांक भने गणनापछि नै आउनेछ । गैंडाकै लागि भनेर २ हजार हेक्टरमा घाँसे मैदान व्यवस्थित गरिएको छ । पानी नपुग भएका स्थानमा कृत्रिम पोखरी, ताल तलैया निर्माण गर्ने कामले पनि तीव्रता पाएको छ । गैंडा गणनाका लागि सरकारले १ करोड १० लाख रुपैयाँ बजेट छुट्याएको छ ।
प्रकाशित मिति : November 28, 2019 at 7:08 am







