१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

टुँडिखेलमा अस्तव्यस्तरूपमा राखिएका निर्माण सामग्री हटाउन महानगरकाे निर्देशन

११ मंसिर, काठमाडाैँ । टुँडिखेलभित्र अस्तव्यस्तरूपमा राखिएका निर्माण सामग्री हटाउन काठमाडौँ महानगरले निर्देशन दिने तयारी गरेको छ । ‘अकुपाइ टुँडिखेल’ का अभियानकर्मीको आग्रहमा आज कर्मचारीसहित टुँडिखेल अनुगमनमा जानुभएका उपप्रमुख हरिप्रभा खड्गीले निर्माण कम्पनीलाई सामग्री हटाउने निर्देशन दिने बताउनुभएको हो । काठमाडौँ महानगरले केही समयका लागि निर्माण सामग्री राख्न खाली ठाउँ दिएको थियो ।

“सामग्री राख्न दिइएको खाली ठाउँलाई ‘पार्किङ’ बनाएछन्”, उहाँले भन्नुभयो, “सबै सामग्री हटाएर चारै ठाउँमा ‘गेट’ लगाउँछौँ ।”टुँडिखेलमा धरहरा पुनःनिर्माणका क्रममा निस्किएको माटो र भत्काइएको हुलाक सेवा विभागको सामग्री राखिएको छ भने रत्नपार्कमा वीर अस्पताल र दरबार हाइस्कुलको भवन निर्माणको सम्पूर्ण सामग्री राखिएको छ । निर्माण सामग्री राख्न दिइएको ठाउँलाई पार्किङ बनाएपछि खड्गीले खुला गर्न निर्देशन दिने बताउनुभएको हो ।

अस्तव्यस्तरूपमा राखिएको निर्माण सामग्रीका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको भन्दै अकुपाइ टुँडिखेल अभियानका अभियानकर्मीले विरोध गर्दै आएका छन् । उपप्रमुख खड्गीले छिट्टै टुँडिखेलमा राखिएका निर्माण सामग्री हटाएर खुला बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : November 27, 2019 at 7:53 pm