१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

११ मंसिर, काठमाडौं । राजधानी काठमाडौंमा मात्रै होइन, देशका ठूलाठूला सहरमा समेत अर्ग्यानिक तरकारी तथा खाद्यान्न पाइन्छ भनेर थापिएका पसल छ्यापछ्याप्ती भेटिन्छन् । यस्ता पसलमा विशुद्ध अर्ग्यानिक उत्पादन पाइने प्रचार गरिएको हुन्छ ।

वास्तविकता भने आधिकारिक निकायबाट यसको मापदण्डै नबनाई आफूखुसी अर्ग्यानिक अर्थात् जैविक वस्तुको डंका पिट्ने गरिएको हुन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना जोशी वैद्यले नेपालमा अर्ग्यानिक खाद्यान्न तथा तरकारीका लागि कुनै मापदण्ड नै नबनेको बताए । उनले भने, ‘जसले अर्ग्यानिक नाममा पसल थापेका छन्, ती सबै स्वघोषित हुन् ।’

सामान्यतः रासायनिक मल, रासायनिक विषादी, रासायनिक इन्जाइम र आनुवंशिक परिमार्जित गरिएको बीउबिजन प्रयोग नगरी उत्पादित वस्तुलाई अर्ग्यानिक भन्ने गरिन्छ छ तर त्यतिले मात्र अर्ग्यानिकको मापदण्ड पूरा नहुँने गोरखापत्र दैनिकमा खबर छ ।

अर्ग्यानिक तरकारी वा अन्नबाली उब्जाउन प्रयोग हुने जमिन कम्तीमा ३ वर्ष कुर्नुपर्छ । ३ वर्षभित्र कुनै पनि बेला कुनै पनि बहानामा राष्ट्रिय सूचीमा सूचीकृत विषादी जस्तै, अर्गानोक्लोरिकलगायत पेस्टिसाइड जमिनमा प्रयोग भएका छन् भने उक्त जमिनमा जैविक खेती गर्दैमा त्यसलाई अर्ग्यानिक भन्न नपाइने विज्ञहरूको सुझाव छ ।

महानिर्देशक वैद्यले हालसम्म अर्ग्यानिक वस्तु बेच्नेबारे अनुमति लिन कोही पनि नआएको बताउँदै बजारमा देखिएका अर्ग्यानिक वस्तु मापदण्डविपरीत रहेको बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार ०७:४६