१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

विवाह महोत्सवको तयारी पूरा, राष्ट्रपति भण्डारी सहभागी हुने

१० मंसिर, जनकपुर । रामजानकी विवाहोत्सवको सबै तयारी पूरा भएको छ । विवाहोत्सव साताव्यापी विविध कार्यक्रमसहित चल्नेछ । आज मंगलबारदेखि औपचारिक कार्यक्रमहरु सुरु भएका छन् ।

‘सरसजावट, पन्डाल-टेन्टसहित विवाहोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ,’ जानकी मन्दिरका पुजारी रामरोशन दासले भने, ‘विवाहपञ्चमी सफल पार्न हामी अहोरात्र जुटेका छौँ, मंगलबारदेखि विधिवत् कार्यक्रमहरु सुरु हुँदै छन् ।’

विवाहोत्सवअन्तर्गत मंगलबार जनकपुर दर्शन कार्यक्रम हुँदै छ । उत्तराधिकारी महन्त दासले यस वर्ष विवाहोत्सव मनाउन विशेष तयारी गरिएको जानकारी दिए । हरेक ५ वर्षपछि अयोध्याबाट विशेष जन्ती आउने गरेको र यस वर्ष पाँचौं वर्ष परेकोले विवाहोत्सव विशेष रुपले मनाइने उनले बताए ।

२०६१ देखि हरेक ५ वर्षपछि अयोध्याबाट विशेष जन्ती आउने परम्परा आरम्भ भएको हो । यस वर्ष विशेष जन्तीको रुपमा अयोध्याबाट ५ सयको संख्यामा जन्तीको रुपमा साधुसन्त आउन लागेको दासले जानकारी दिए ।

विवाहोत्सवमा सहभागी हुन अयोध्याबाट साधुसन्तहरु प्रस्थान गरिसकेको र बुधबार जनकपुर पुग्ने उनले बताए ।

रामजानकी विवाहोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर आउने भएकी छिन् । भारतको अयोध्याबाट आउने जन्तीलाई राष्ट्रपति भण्डारीले स्वागत गर्ने कार्यक्रम छ ।

यसैबीच विवाहोत्सवको अवसर पारेर एउटै मण्डपभित्र १०८ जोडी वरकन्याको सामूहिक विवाह हुने भएको छ । जनकपुरस्थित मणिमण्डपमा विवाहपञ्चमीका दिन १०८ जोडी वरकन्याको सामूहिक विवाह हुने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलवार ०९:१८