रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो
१० मंसिर, काठमाडौं । नेपाल सरकारले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएको छ । रुसको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणका लागि पठाएको औपचारिक निमन्त्रणपत्र हस्तान्तरण गरेका हुन् ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका प्रधानमन्त्री दिमयित्री मेदभेदेवलाई नेपाल भ्रमणका लागि गरेको निमन्त्रण पनि परराष्ट्रमन्त्री ज्ञवालीले हस्तान्तरण गरेका छन् । औपचारिक निमन्त्रणा पत्र मन्त्री ज्ञवालीले विदेशमन्त्री लाभ्रोभलाई सोमबारै हस्तान्तरण गरेको गोरखापत्र दैनिकमा खबर छ ।
यस्तै परराष्ट्रमन्त्री ज्ञवाली विदेशमन्त्री लाभ्रोभलाई पनि नेपाल भ्रमणका लागि आमन्त्रित गरेको बताए । नेपालमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उच्चस्तरीय भ्रमणको चर्चा चल्दैगर्दा यसरी औपचारिक निम्ता पठाइएको हो । दुई देशबीचको उच्चस्तरीय भ्रमणको आदान-प्रदानले आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति : 07:55







