९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

सरकारले लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गयोः नेता पौडेल

९ मंसिर, दाङ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गएको बताउनुभएको छ । रिपोर्टस क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अहिलेको वर्तमान सत्तावादीहरु सामन्ती राणा शासनका नयाँ संस्करण हुन्, राणा शासनकै पद चिह्नमा हिँडेर यिनीहरुले देशलाई लान खोजिरहेका छन्, एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गएका छन् ।”

नेपाली काङग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिपोर्टर्स क्लब दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम । तस्वीरः नारायणी रजौरे

द्वन्द्वकालमा ठूलो लडाइँ लडेर नेपाली काँग्रेसले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याएको भन्दै नेता पौडेलले भन्नुभयो, “हामीले ठूलो लडाइँ लेडर देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्यायौँ तर अहिलेको सरकारले यसलाई उल्टो गतितर्फ लैजान खोजिरहेको छ ।” वर्तमान सरकार वंश परम्परा र नातावादको स्थापनालाई महत्व दिएर अहिलेको चुनावमा जुटेको उहाँको भनाइ थियो ।

नेता पौडेलले अहिले कम्युनिष्ट सरकारको विरुद्धमा नेपाली काँग्रेस देशभरि चुनावी अभियानमा जुटेको भन्दै जनतालाई भएभरका सपना देखाएर अघि बढेको कम्युनिष्टको सरकार अहिले झुटो सावित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो सरकारले कुनै पनि राम्रो काम गर्न सकेन तर काँग्रेसले शुरु गरेका विकास निमार्णका कामलाई उद्घाटन गर्दै त्यही मञ्चबाट हामीलाई गाली गरिरहेको छ ।” उहाँले वर्तमान सरकारले देशमा शान्ति सुरक्षा दिन नसकेको पनि बताउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले उपनिर्वाचनपछि अहिलेको सरकारले गरेको ज्यादतीको पर्दाफास हुने बताउनुभयो । उहाँले भन्नुभयो, “दुई तिहाईको सरकारले गरेको ज्यादती र भ्रष्टाचारको पर्दाफास उपनिर्वाचनपछि हुनेछ ।”

प्रकाशित मिति : November 25, 2019 at 12:43 pm