११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

पितृ मोक्षका लागि शतबीज छरिँदै

९ मंसिर, काठमाडौं । पितृको मोक्ष र उद्धारका लागि आज बिहानैदेखि देशभरका शिवालयमा भक्तजनको घुइँचो छ । बालाचतुर्दशीका अवसरमा आज शतबीज छर्दै पितृमोक्षको कामनासमेत गरिन्छ ।

मंसिर कृष्ण चर्तुदशीका दिन आफ्ना परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित सतबीज छर्ने परम्परा छ । यसो गर्दा पितृलाई अन्नको कमी नहुने र उनीहरूले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ । यसका साथै शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ ।

शतबीजको एक गेडा अन्न छर्दा सुन दान गरे बराबरको फलसमेत प्राप्त हुने धार्मिक विश्वास छ । मंसिर कृष्ण त्रयोदशीका दिन शतबीज छर्ने बेलासम्म आफ्ना पीतृहरूको नाममा बत्ती बाल्ने गरिन्छ ।

यसैक्रममा दिवंगत पितृहरुको नाममा दीपदान गर्न लाखौं भक्तजन आइतबार पशुपति क्षेत्रमा भेला भएका छन् । दीपदान गरी आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । अघिल्लो दिन दियो, कलश गणेश थापी भर्खरै मृत्यु भएका आफन्तजनको नाम र गोत्र उच्चारण गरी संकल्प गरेर बत्ती बाल्ने गरिन्छ ।

प्रकाशित मिति : November 25, 2019 at 7:52 am