उपचुनावमा दल : कतै तालमेल, कतै एक्लो भिडन्त
९ मंसिर, काठमाडौं । १४ मंसिरमा हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपचुनावमा दलहरू कतै तालमेल त कतै एक्ला एक्लै प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिनिधिसभातर्फ एउटै मात्र उप-चुनाव हुने कास्की २ मा सत्तारूढ दल नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र समाजवादी पार्टीसहितका दलले आ–आफ्ना उम्मेदवार उठाएका छन् ।
कास्की २ को उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको लडाइँका रूपमा समेत लिएका छन् । जसका कारण प्रचार प्रसारमा ठूला दलका शीर्ष नेताकै दौडधूप देख्न सकिन्छ । यो क्षेत्रमा नेकपाले सोही क्षेत्रबाट उम्मेदवार बनेर २०७४ को प्रतिनिधिसभा चुनावमा विजयी बनेका दिवंगत नेता रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । त्यस्तै, कास्की २ मा कांग्रेसले पुराना नेता खेमराज पौडेललाई उठाएको खबर राजधानी दैनिकमा छ ।
समाजवादीले इन्जिनियर धर्मराज गुरुङलाई उम्मेदवार बनाएको छ । प्रदेशसभातर्फ उपनिर्वाचन हुने बाग्लुङ २ ‘ख’ मा सत्तारूढ दल नेकपाले आफ्नो दलका उम्मेदवार उठाएको छैन । सो स्थानमा नेकपाले राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीलाई उम्मेदवार बनाएको छ । प्रतिपक्षी कांग्रेसले जित शेरचनलाई उम्मेदवार बनाएको छ । दुई दलबीच भएको चुनावी तालमेलको सहमतिअनुसार कास्की २, भक्तपुर २ ‘ख’ र दाङ ३ ‘ख’मा भने जनमोर्चाले सत्तारूढ नेकपालाई सघाउनेछ ।

त्यसैगरी, प्रदेशसभातर्फ भक्तपुर १ ‘क’ मा नेकपा, कांग्रेस, नेपाल मजदुर किसान पार्टीसहितका दलहरूले आआफ्ना उम्मेदवार उठाएका छन् । सो स्थानमा कांग्रेसलाई राप्रपा (संयुक्त) ले सघाउने भएको छ ।
कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले राप्रपा (संयुक्त) ले कांग्रेस उम्मेदवार कृष्ण भँडेललाई सघाउने सहमति भएको जानकारी दिए । सो स्थानमा कांग्रेससहित नेकपाबाट देवीप्रसाद अर्थात् डीपी ढकाल र नेमकिपाबाट निरज लवजु मुख्य प्रतिस्पर्धामा छन् ।
यस्तै, दाङ ३ ‘ख’ मा समेत नेकपा, कांग्रेस र राप्रपालगायत दलले आ-आफ्ना उम्मेदवार उठाएका छन् । सो स्थानमा दलहरू एक्ला एक्लै मैदानमा उत्रँदै छन् ।
दाङ क्षेत्र ३ ‘ख’ मा प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि नेकपाबाट विमलाकुमारी खत्री ओली मैदानमा छिन् । कांग्रेसका केशव शर्मा आचार्य मैदानमा छन् ।
यसैगरी, नगरपालिकातर्फ एउटै मात्र निर्वाचन क्षेत्र सुनसरीको धरान उपमहानगरपालिकामा समेत नेकपा, कांग्रेस, समाजवादी पार्टी, राप्रपालगायतका दलले आआफ्ना उम्मेदवार उठाएका छन् ।
धरानको मेयरका लागि नेकपाका तर्फबाट प्रकाश राई मैदानमा छन् भने समाजवादीका गजेन्द्रबहादुर लिम्बू चुनावी मैदानमा उत्रिएका छन् । कांग्रेसले २०७४ मा पराजित उम्मेदवार तिलक राईलाई नै उतारेको छ ।
यस्तै, राप्रपा (संयुक्त) ले आफ्ना उम्मेदवार नउठाएका स्थानमा राप्रपाका उम्मेदवारलाई सघाउने र राप्रपाले आफ्ना उम्मेदवार नउठाएका स्थानमा (संयुक्त) लाई सघाउने भएको छ । राप्रपा (संयुक्त) का प्रवक्ता जनक पाठकले एकले अर्कालाई सघाउने गरी दुई अध्यक्षबीच सहमति भएको जानकारी दिए ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडा अध्यक्ष ४३ गरी कुल ५२ रिक्त पदमा उप-चुनाव हुनेछ ।
प्रकाशित मिति : 07:19







