प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको अनुरोध ‘चुकेल्याङजस्तो नठान्नुस्’
८ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो स्वभाव, शैली र व्यवहार कोही कसैप्रति नबिझाउने बनाउन प्रयत्न गर्ने र सबैसँग समन्वय गरेर काम गर्ने बताएका छन । प्रधानमन्त्रीको सल्लाहकारको रूपमा बधाइ र शुभकामना दिनेहरूलाइ धन्यवाद दिँदै थापाले व्यवहार कोही कसैप्रति नबिझाउने बनाउन प्रयत्न गर्ने तर चुकेल्याङजस्तो नठान्न र त्यसखालको अपेक्षाचाहिँ नगर्न सबैमा विनम्र अनुरोध गरेका छन ।

उनले भनेका छन ‘नयाँ जिम्मेवारीमा नियुक्तिसँगै, प्रत्यक्ष भेटेर, टेलिफोनमार्फत र सोसल मिडियाको माध्यमबाट बधाई तथा शुभकामना दिनुहुने सबै व्यक्तित्वहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यस जिम्मेवारीलाई मैले आफ्नो पुनःपरीक्षा र परीक्षणका रूपमा आत्मसात् गरेको छु । बधाई र शुभकामनासँगै व्यापक अपेक्षा पनि प्रकट भएको छ । मेरो स्वभाव, शैली र व्यवहार कोही कसैप्रति नबिझाउने बनाउन प्रयत्न गर्ने नै छु । तर चुकेल्याङजस्तो नठान्न र त्यसखालको अपेक्षाचाहिँ नगर्न सबैमा विनम्र अनुरोध गर्दछु ।’
थापाले प्रधानमन्त्रीको कार्यसम्पादनलाई परिणाममुखी बनाउन नै सम्पूर्ण योग्यता, क्षमता र बर्कतका साथ टिमवर्कमा क्रियाशील हुने बताउँदै भनेका छन ‘संचार क्षेत्रको सहज पहुँच र समन्वयमा रहने, भ्रम(-यूमर), अतिरंजना, नक्कली र तथ्यहीन (फेक)समाचार सम्प्रेषण, बार्गेनिङ र बिक्रीको (पेड) समाचार, तोडमरोड (डिस्टोर्सन), नकारात्मक सम्प्रेषणमा प्राथमिकता (नेगेटिभिज्म) र नियोजित उद्देश्य(भेस्टेड मिसन) जस्ता व्यवहारमा जारी गलत अभ्यासमा सुधार गरी तथ्यको आधारमा सत्यमा पुग्ने व्यवसायिक(प्रोफेशनल)कार्यशैलीमा मेरो सदैव सहयोग रहने छ ।’
प्रकाशित मिति : 09:20









