युवाविहीन हुँदै सुदूरपश्चिमका गाउँ
७ मंसिर, डोटी । नेपालीको ठूलो चाड दसैं र तिहारलगायत चाडका बेला पूरै चहलपहल भएका सुदूरपश्चिमका गाउँ विस्तारै सुनसान बन्दै गएका छन् । दसैं-तिहार मनाउन जिल्लाबाहिर तथा विदेशबाट घर आएका सर्वसाधारण विस्तारै आफ्नो काममा फर्किन थालेका छन् ।
उनीहरु फर्किन थालेसँगै यहाँका ग्रामीण बस्तीमा चहलपहल घटेको डोटीको जोरायल गाउँपालिकाका बासिन्दा तथा शिक्षक निर्मल रावतले बताए । उनले भने, “परदेश गएका चाडबाडमा घर आएका कारण गाउँमा रमाइलो थियो, अहिले उनीहरु फर्किन थालेपछि यहाँका गाउँघर प्रायः सुनसान हुन थालेका छन् ।”
पढ्न सहर छिरेका र जिल्लाबाहिर जागिर गर्नेले पनि गाउँ छाड्न थालेसँगै गाउँ सुनसान हुन थालेका हुन् । आफ्नो काम गर्ने ठाउँमा जाने र पढ्न गएका विद्यार्थी पनि फर्किन थालेपछि जिल्लामा सञ्चालन हुने सवारीसाधनमा समेत चाप बढेको शैलेश्वरी यातायातका रुटपरमिट इञ्चार्ज प्रेम रावलले बताए । उनले भने, “शुक्रबार जिल्ला बाहिर फर्किनेका कारण यातयातका साधन भरिभराउ हुन थालेका छन्, हामीसँग पर्याप्त सवारीसाधन नहुँदा केही समस्या हुँदै आएको छ ।” जिल्ला बाहिर फर्किनेको सङ्ख्या बढी हुन थालेपछि अहिले डोटीबाट बाहिरी जिल्लाका लागि गाडी पाउन सकस हुने गरेको यात्रु बताउँछन् ।

दसैं र तिहारमा रमाइलो रहेका सुदूरपश्चिमका डडेल्धुरा, अछाम, बझाङ, बैतडी, दार्चुला, बाजुरा र डोटीका गाउँघरमा विस्तारै रौनक हराउन थालेको दिपायलका स्थानीय तथा सुदूरपश्चिम बस व्यवसायी समिति डोटीका प्रमुख दुर्गा पन्त बताउँछन् । “घर फर्किएका स्थानीय गाउँ छोड्न थालेका छन्, यहाँका गाँउमा बालबालिका र वृद्धवृद्धामात्र हुने भए,” उनको भनाइ छ ।
यहाँका गाउँघरमा पढ्न बजार छिरेका तथा रोजगारीका लागि जिल्ला बाहिर गएका स्थानीय प्रायः वर्षको एक पटक दसैं तिहारको बेला मात्रै गाउँघर आउने गर्छन् ।
दसैंका बेला सुनसान देखिएका यहाँका पहाडी जिल्लाका सदरमुकाममा भने अहिले चहलपहल सुरु भए भएको छ । दसैं र तिहार गाउँ मात्र होइन सदरमुकामबाट बाहिरिनेको संख्या धेरै हुने हुँदा यहाँका सदरमुकाम केही हप्ता सुनसान रहेका थिए । अहिले भने यहाँका सदरमुकामका पसल, कार्यालय तथा सार्वजनिक स्थानमा एकाएक चहलपहल बढेको होटेल व्यवसायी सङ्घका अध्यक्ष दीपकबहादुर खड्काले बताए । उनले भने, “चाडबाड र जात्राले केही हप्ता यहाँका सदरमुकाम सुनसान थिए अहिले गाउँघर गएका शहर फर्किन थालेपछि बजारमा चहलपहल बढेको छ ।” त्यस्तै चाडबाड मनाउन डोटीबाट आफ्ना घर गएका कर्मचारीसमेत अहिले जिल्लास्थित आफ्नो कार्यालयमा फकिएपछि सरकारी कार्यालय पनि कर्मचारीले भरिभराउ भएका छन् ।
यहाँका गाउँघरबाट युवा तथा कर्मचारी आफ्नो कार्यक्षेत्रमा फर्किन थालेपछि गाउँघर महिला, बालबालिका तथा वृद्धका भरमा छन् । गाउँमा युवा नहुँदा कुनै समस्या पर्दा वा कोही मर्दा पर्दासमेत मलामी जाने मान्छे पनि नहुँने अवस्था भएको केआइसिंह गाउँपालिकाका स्थानीय चेतराज भट्टले बताए । –रासस
प्रकाशित मिति : November 23, 2019 at 8:39 am







