१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

१० वर्षमा १४ स्वास्थ्यमन्त्री : उपलब्धि निराशाजनक

७ मंसिर, काठमाडौं । पछिल्लो १० वर्षयता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ मन्त्री पाए पनि अपेक्षाकृत उपलब्धि हासिल गर्न सकेको देखिँदैन । मन्त्रालयले दैनिक काम सञ्चालन गरे पनि जनताको मन जित्ने कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउन नसकेको सरोकारवालाहरूको विश्लेषण छ ।

२०६६ पछिका १० वर्षको अवधिमा विभिन्न पार्टीका नेताले मन्त्रालय चाख्ने अवसर पाए पनि स्वास्थ्य क्षेत्रको अवस्था भने सन्तोषप्रद छैन । स्वास्थ्य क्षेत्र सुधारका लागि केही मन्त्रीले राम्रै प्रयास गरेको भए पनि सन्तोष मान्न सक्ने अवस्था नरहेको राजधानी दैनिकमा खबर छ ।

सरकारले स्वास्थ्य बिमा, एक स्थानीय तह एक चिकित्सक, आधारभूत स्वास्थ्य सेवा निःशुल्क, स्वास्थ्यमा ओएनएम सर्वेक्षण, डिजिटलमैत्री सेवा, प्रत्येक जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको सुनिश्चिततालगायतका कार्यक्रमलाई यो अवधिमा उपलब्धिका रूपमा मानेको छ । तर, ती कार्यक्रमसमेत दु्रतगतिमा अघि बढ्न सकेका छैनन् । जसले गर्दा स्वास्थ्य क्षेत्रको कार्यकारी नेतृत्वको भूमिकामा रहेको स्वास्थ्य मन्त्रालयको उपलब्धि उत्साहजनक देखिँदैन ।

२०५० को दशकमा नेपालमा स्वास्थ्य क्षेत्रमा संगठन तथा व्यवस्थापन सर्भे (ओएनएम) भएको थियो । त्यस समयमा २०४८ को जनगणनाअनुसार नेपालको कुल जनसंख्या १ करोड ८४ लाख ९१ हजार ९७ थियो । २०६८ को जनगणनाले कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ देखायो । सामान्य रूपमा हेर्दा पनि करिब ८० लाखको वृद्धि भइसकेको जनसंख्याअनुरूप नयाँ दरबन्दी सिर्जना गरिएको छैन ।

यस्तै, सरकारले वडास्तरमा पूर्ण खोप सुनिश्चित, नसर्ने तथा दीर्घरोगको पहिचान तथा रोकथामका लागि ‘टोलटोलमा नागरिक आरोग्य कार्यक्रम’ सञ्चालनमा ल्याउने भनिए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

दीपक बोहोरा, गिरिराजमणि पोखरेल, राजेन्द्र महतो, गगन थापा, खगराज अधिकारी, उमाकान्त चौधरी, रामजनम चौधरी, लोकेन्द्र विष्ट, कृष्णबहादुर महरा, शक्तिबहादुर बस्नेत, उपेन्द्र यादव, पद्मा अर्याल मन्त्री बने । बिहीबार मात्रै नेकपाको तर्फबाट भानुभक्त ढकालले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार ०७:२०