मन्त्रिपरिषद् पुनर्गठनमा उपेन्द्र यादव असन्तुष्ट
७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोध्दै नसोधी उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यबाट कानुन मन्त्रालयमा सरुवा गरिदिए । मन्त्रिपरिषद् पुनर्गठन हुँदा भारत भ्रमणमा रहेका यादव आक्रोशित हुँदै शुक्रबार फर्किएका छन् ।
उनी नआउँदै देशभित्र यो प्रश्न उब्जिएको छ, अब उनी के गर्लान् ? उनको पार्टी समाजवादीमा यसै विषयमा मतभेद सुरु भइसकेको छ । कोही सरकार छाड्नुपर्ने तर्कमा छन् भने कतिपय अझै हेर्नुपर्ने धारणामा ।
समाजवादीका अर्का अध्यक्ष बाबुराम भट्टराई तत्काल सरकारबाट बाहिरिनुपर्ने पक्षमा छन् । भट्टराई यादवको मन्त्रालय परिवर्तनमा प्रधानमन्त्रीको शैली निरंकुश देखिएको भन्दै यसबारे गम्भीर समीक्षा गर्नुपर्ने अडानमा रहेको अन्नपूर्ण पोस्टमा खबर छ । समाजवादी पार्टी सरकारमा सामेल नहोस् भन्ने सोच राखेकै कारण पनि फर्कनुको विकल्प नभएको सुझाव भट्टराईको छ ।
उपप्रधानमन्त्री यादवनिकट समाजवादी पार्टीका नेता शिवजी यादव मन्त्रालय हेरफेर हुँदैमा सरकारबाट बाहिरिनुपर्ने तर्क सही नभएको बताउँछन् । उनले आफूहरू सरकारबाट बाहिरिए राजपा सरकारमा जाने दाबी गरे । उनले राजपालाई सरकारमा जान नदिइने बताए । संघीय सरकारमा राजपा सहभागी भएलगत्तै प्रदेश २ मा समेत नेकपा र राजपा मिलेर नयाँ सत्ता समीकरण निर्माण हुन सक्ने उनको अनुमान छ ।

अघिल्लो साता काठमाडौंमा बसेको समाजवादी पार्टीको संघीय परिषद् र केन्द्रीय समिति बैठक सरकारमा बस्ने या नबस्नेबारेमा ठोस निर्णय गर्न सकेन । संघीय परिषद्मा अध्यक्ष भट्टराईले सरकारबाट बाहिरिने प्रस्ताव गरे पनि यादवकै अनिच्छाका कारण केन्द्रीय समितिले आवश्यक परेका बेला पदाधिकारी बैठकले निर्णय लिने भन्दै पन्छिए ।
केन्द्रीय समितिबाट पन्छिए पनि प्रधानमन्त्रीको पछिल्लो कदमले समाजवादी पार्टीका अध्यक्ष यादव सकसमा परेका छन् ।
प्रकाशित मिति : 07:12







