१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै हत्या गर्नेलाई जन्मकैद

६ मंसिर, ओखलढुंगा । जिल्ला अदालत ओखलढुंगाले मोलुङ गाउँपालिका ३ का २७ वर्षीय सन्तोष कार्कीको हत्याका दोषीलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले दाङको भालुवाङका ३७ वर्षीय सञ्जीतकुमार थापाले कार्कीको हत्या गरेको ठहर गर्दै बिहीबार उक्त फैसला गरेको स्रेस्तेदार नेत्रबन्धु पौड्यालले जानकारी दिए ।

दुबई प्रहरीमा कार्यरत थापाले आफ्नी पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै ०७५ भदौ ५ गते अपराह्न ४ बजे मोलुङ गाउँपालिका ३ स्थित कार्कीकै घरमा गएर खुकुरी प्रहार गरी उनलाई हत्या गरेका थिए ।

कार्कीको खुकुरी प्रहारबाट शरीरभरि चोट लागेको र अत्यधिक रगत बगेको अवस्थामा घरभित्रै शव फेला परेको थियो । हत्या गरी भागेका आरोपितलाई प्रहरीले ०७५ भदौ १२ गते निजकै घरछेउ दाङको भालुवाङबाट पक्राउ गरेको थियो । भदौ १३ गते ओखलढुंगा प्रहरीले बुझेर १४ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।

प्रहरीले क्रूर अमानवीय तवरले यातना दिएर हत्या गरेको कसुरमा आजीवन काराबासको सजाय माग दाबी गरे पनि क्रूर तरिकाले यातना दिएर हत्या नगरेको, आरोपितले अभियोग स्वीकार गरेको देखिएकाले जन्मकैद (२५ वर्ष) कर्तव्य ज्यानमा कसुर ठहर भई सजाय तोकिएको अदालतले जनाएको छ ।

अनुसन्धानका क्रममा थापाले अभियोग स्वीकार गरेका थिए भने आवेशमा हत्या गरेको बयान दिएका थिए । –रासस

प्रकाशित मिति : November 22, 2019 at 8:30 am