१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

पर्यटक भिसामा कडाइ : तीन उत्तर कोरियाली निष्कासित

५ मंसिर, काठमाडौं । सरकारले गैरकानुनी ढंगमा नेपाल बस्दै आएका तीन उत्तर कोरियाली नागरिकलाई निष्कासन गरेको छ । पर्यटक प्रवेशाज्ञा (भिसा) मा आएका तीनैजना कम्युटर इन्जिनियर हुन् ।

साउन ७ गतेसम्म पर्यटक भिसामा रहेका उनीहरू त्यसपछि गैरकानुनी बसेका थिए । उनीहरूलाई अध्यागमन विभागले गत साउन २८ गते निष्कासन गरेको थियो । नेपालमा अमेरिकीबाहेक अन्य मुलुकका नागरिक पर्यटक भिसामा एक सय ५० दिनभन्दा बढी बस्न पाउँदैनन् । उनीहरू ललितपुर सातदोबाटोमा उत्तर कोरियाली लगानीमा खोलिएको हिमाल चिल्बो नामक आईटी कम्पनीमा काम गर्न आएका थिए । निष्कासित हुनेमा आन प्योनोयाङ, क्वान जुङ मिन र क्वान गुक छन् ।

नेपाल सरकारले उत्तर कोरियालीमाथि कडाइ गरेको पत्तो पाएपछि उनीहरू भिसाबारे बुझ्न अध्यागमन विभागमा पुगेको स्रोतलाई उद्धृत गर्दै अन्नपूर्ण दैनिकले खबर छापेको छ । विभागले तीन सातादेखि उत्तर कोरियाली भिसाबिनै नेपाल बसेको थाहा पाएपछि उनीहरूलाई निष्कासन प्रक्रिया थालेको थियो ।

विभागका निर्देशक रामचन्द्र तिवारीले गैरकानुनी ढंगले बसेका तीन उत्तर कोरियालीलाई निष्कासन गरेको पुष्टि गरे । उनले भने, ‘ओभर स्टे भएकालाई निष्कासन गर्नु सामान्य प्रक्रिया हो । उत्तर कोरियाली मात्र होइन अन्य धेरै मुलुकका नागरिक निष्कासित भएका छन् ।’

उत्तर कोरियाली नागरिक घुम्नकै लागि मात्र नेपाल आउँदैनन् । निकालिएका उत्तर कोरियाली नागरिकबारे अध्यागमन विभागसमेत मौन थियो । विभागले अध्यागमन कानुन उल्लंघन गर्ने जोकोही विदेशीलाई कारबाही गर्नु वा निष्कासन गर्नु सामान्य प्रक्रिया भएको प्रतिक्रिया दिएको छ ।

प्रकाशित मिति : November 21, 2019 at 8:17 am