१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

आलम प्रकरण : जाहेरवाला र साक्षीलाई कडा सुरक्षा

५ मंसिर, काठमाडौं । रौतहटको राजपुर बमकाण्डमा निलम्बित सांसद मोहम्मद आफताब आलम पुर्पक्षका लागि कारागार चलान भएपछि जाहेरवाला, पीडित र साक्षीलाई प्रहरीले कडा सुरक्षा दिन थालेको छ । छोरा मारिएको भन्दै आलमविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी दिएका श्रीनारायण सिंहको सुरक्षाका लागि रौतहट प्रहरीले हवल्दारलाई खटाएको छ । उनले चौबीसै घण्टा सिंहको सुरक्षा दिँदै आएका छन् ।

जाहेरवालामध्ये सिंहलाई बढी सुरक्षा थ्रेट देखिएकाले प्रहरी खटाइएको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए । अर्का जाहेरवाला रोक्सना खातुनको ०६७ माघ १० गते हत्या भइसकेको छ । खातुनको हत्या कसले र किन गर्‍यो भन्ने खुलेको छैन । सिंह परिवारको सुरक्षाका लागि नजिकैको चौकीबाट समेत प्रहरी खटिने गरेका छन् ।

पछिल्ला दिनमा प्रत्यक्षरूपमा धम्की नआएको तर फकाउने मनसायले कुराहरू आउने गरेको सिंहका छोरा सतेन्द्रप्रताप सिंहले बताए । आलमको मुद्दामा प्रहरीले अनुसन्धान गर्दा पनि सिंह परिवारलाई मुद्दा फिर्ताको दबाब आएको थियो । सिंहले न्यायाधीश समक्ष पनि आफूलाई पैसा लिएर मुद्दा फिर्ता लिन दबाब आएको बताएका थिए ।

बम बिस्फोटका घाइते भनिएका सर्लाही जिल्ला गडैता २, पिपरातटोलका सफि अहमद तथा भारतको बिहार राज्यस्थित बैरगनिया मुसाचौकका गौरीशंकर रामलाई पनि प्रहरीले सुरक्षा दिएको अन्नपूर्ण पोस्टमा खबर छ । अहमद र रामले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । उनीहरूलाई प्रहरीले आफ्नो सेल्टरमा सुरक्षा दिएको छ ।

आलममाथि थुनछेक बहस चलिरहँदा रामलाई घरबाट लगेर चारदिनसम्म बन्धक बनाइ स्टोभ पड्केर घाइते भएको भन्ने व्यहोराको कागजमा हस्ताक्षर गर्न लगाएका थिए । रामले अदालतमा बम पड्केर आफू घाइते नभएको व्यहोराको निवेदन अदालतमा बुझाएका थिए ।

बारामा तीनजना साक्षी छन् । उनीहरू र परिवारलाई सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालय बारामा पत्राचार भएको छ । रौतहट, बारा, सर्लाहीमा रहेका जाहेरवाला, साक्षी र पीडित परिवारको सुरक्षाका लागि नजिकैको युनिटबाट प्रहरी खटाइएको रौतहटका एसपी खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : November 21, 2019 at 8:07 am