‘हिउँदे अधिवेशनलाई छैन बिजनेस’
५ मंसिर, काठमाडौं । संसद्को हिउँदे अधिवेशन नजिकँदै गए पनि सरकारले पर्याप्त बिजनेस नदिँदा संसद् बैठक बिजनेसविहीन हुने देखिएको छ । प्रतिनिधिसभका समितिमा १० विधेयक छन् भने ८ दर्ता भएका छन् ।
राष्ट्रियसभाका समितिमा ४ विधेयक र दर्ता भएको संख्या २ छ । दुवै सदनमा गरी २४ विधेयक रहे पनि अधिकांश विवादका कारण अघि बढ्न सकेका छैनन् । केही विधेयक प्रतिनिधिसभा र राष्ट्रिसभामा पुग्ने क्रममा रहे पनि दर्ता हुन बाँकी छ । संसद् सचिवालयका एक अधिकारीले संसदको हिउँदे अधिवेशनका लागि त्यतिले मात्र बिजनेस नपुग्ने बताउँछन् । ‘हिउँदे अधिवेशन बजेट अधिवेशन जस्तो होइन,’ ती अधिकारीले भने, ‘विधेयक अधिवेशन भएकाले संसद् बैठकलाई निरन्तर सञ्चालन गर्न कम्तीमा ४५ विधेयकभन्दा बढी आवश्यक पर्छ ।’
संसद्का समितिमा रहेका विधेयकमाथि छलफलै अघि बढ्न नसकेको बताउँदै केही विवादका कारण विधेयक दर्ता मात्रै भएर बसिरहेका छन् । संसद् सचिवालयमा अत्यन्तै न्यून संख्यामा विधेयक दर्ता भएका छन्,’ ती अधिकारीले भने, ‘विवादित विधेयक पनि वार्ता र संवादबाट टुंगोमा पुर्याउने पहल भएको छैन ।’

असोज २ गते बर्खे अधिवेशन अन्त्य भएसँगै संसदीय समिति पनि निस्क्रिय रहेको नागरिक दैनिकमा खबर छ । सो कारण हिउँदे अधिवेशनमा थोरै दिन मात्र संसद् बैठक सञ्चालन हुनसक्ने अवस्था छ । समितिमा छलफलमा रहेका विधेयक समितिले कहिले टुंगोमा पुर्याउने हो निश्चित नहुँदा संसद् बैठक सञ्चालनमा थप समस्या देखिनसक्ने संसद् सचिवालयका अधिकारीले बताए ।
सामान्य नियमबमोजिम मंसिर र पुस भित्रमा अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ । अधिवेशन आह्वान भएपछि संसद्को बैठक बिजनेस नभएकै कारण महिनामा दुई तीनपटक बस्नुपर्ने अवस्था रहेको विगतले पनि देखाएको छ संसद् सचिवालयका ती अधिकारी बताउँछन् ।
अझ संसदमा नयाँ सभामुखको निर्वाचन गर्नुपर्ने अवस्था आएका कारण मंसिरको दोस्रो सातालगत्तै अधिवेशन आह्वान गर्ने संकेत देखिएको छ ।
प्रकाशित मिति : 07:48







