नेपाल–चीन सम्बन्ध अझै प्रगाढ बन्दै छः प्रदेश प्रमुख शेरचन
३ मंसिर, पाेखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेपाल–चीन सम्बन्ध अझै प्रगाढ बन्दै गएको बताउनुभएको छ । पोखरा भ्रमणमा रहेको चिनियाँ राजदूत नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा आज उहाँले नेपाल–चीनको ऐतिहासिक सम्बन्धलाई हालै चिनियाँ राष्ट्रपति सी चिनफिङले गर्नुभएको भ्रमणसँगै अझै उचाइमा पुर्याएको बताउनुभयो । चीनसँगको सम्बन्ध आगामी दिनमा अझै मजबुत बन्दै जाने विश्वास व्यक्त गर्दै उहाँले नेपाल एक चीन नीतिमा प्रतिबद्ध भएको र गण्डकी प्रदेश चीनको सिमानासँग जोडिएका कारण सिमानाबाट कुनै पनि चीन विरोधी गतिविधि हुन नदिने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि चिनियाँ राजदूत हौ याङछीले प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नु भएकोमा प्रदेश प्रमुख शेरचनलाई बधाई तथा शुभकामना दिनुभयो । नेपालको समग्र विकासका लागि चीनले निरन्तर सहयोग गर्दै आएको बताउँदै उहाँले आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । चीनले नेपाललाई गर्ने सहयोग नेपाल र नेपाली जनताका लागि हुने बताउँदै उहाँले आगामी दिनमा पनि दुई देशको सम्बन्ध अझै सुमधुर बन्दै जाने धारणा राख्नुभयो ।
प्रकाशित मिति : 20:40









