१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

निर्मला बलात्कार हत्या प्रकरण : दोषको दुनो दिलीपतिरै

३ मंसिर, कञ्चनपुर । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले प्राविधिक टोलीले डीएनएलाई प्रमाण मान्न नसकिने ठहर गरेपछि अनुसन्धानमा सहज भएको बताएका छन् । दिलीपसिंह विष्टविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले दिएको किटानी जाहेरीबारे बुझ्न गएको टोलीसँग प्रजिअ वैद्यले दिलीपविरुद्ध दर्ता गरेको किटानी जाहेरी र प्राविधिक टोलीको प्रतिवेदनलगायतले अनुसन्धानमा सघाएको बताए ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा दिलीपविरुद्ध दुर्गादेवीले दिएको किटानी जाहेरीका सम्बन्धमा सोमबार स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको नेपाल समाचारपत्रले खबर प्रकाशन गरेको छ ।

भदौ २२ गते दुर्गादेवीले डीएनए नमिलेर छुटेका दिलीपविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । अनुसन्धानको दायरा साँघुरिँदै गएको प्रजिअ वैद्यको भनाइ छ । दिलीपविरुद्ध परेको किटानीलाई प्रशासनले गम्भीरताका साथ लिएको उनले दाबी गरे । ‘प्राविधिक टोलीले बुझाएको प्रतिवेदनले अनुसन्धानमा सघाएको छ । किटानीलाई गम्भीरताका साथ लिएका छौं, अन्य प्रमाणहरू जुटाइरहेका छौं,’ उनले भने, ‘अनुसन्धान अभियुक्ततर्फ केन्द्रित छ, जतिसक्दो चाँडो सार्वजनिक गर्नेछौं ।’

हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी गणेश चन्दलगायत जिल्लाको अनुसन्धान टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । दिलीपलाई जुनसुकै बेला अनुसन्धानको दायरामा लिन सकिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले बताए ।

दिलीपलाई पक्रने कसरत
किटानी जाहेरी पेस भएको २ महिनाभन्दा बढी हुँदासमेत त्यसविरुद्ध प्रशासनले किन सक्रियता देखाएन भन्ने प्रश्न टोलीमा सहभागीहरूले गरेका थिए । ‘आजसम्म छोरीको बलात्कारी, हत्यारा पत्ता लागेको छैन। दुई महिनाअगाडि दिलीपविरुद्ध दिएको किटानीलाई किन बेवास्ता गरिँदै छ’, निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘दिलीपलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्यो, अर्कै मान्छे अपराधी हो भने त्यसको पहिचान गराइदिनुपर्‍यो ।’

प्रकाशित मिति : November 19, 2019 at 7:58 am