१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

कास्की-२ उपनिर्वाचनः उम्मेद्वार भट्टराईकाे समर्थनमा उर्लियाे जनसागर

२ मङसिर, पोखरा । नेकपाको बलियो पकड वडाका रुपमा चिनिने पोखरा १७ का मतदाताहरुले उम्मेद्वार विद्या भट्टराई अधिकारीलाई भव्य स्वागत गरेका छन् । सोमबार विहानै दोविल्लाबाट घरदैलो अभियान सुरु गरेकी विद्यालाई स्वागत गरेका हुन् । घरदैलो सुरु हुनुअघि दोविल्लामा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा कास्की अध्यक्ष एवं वडा नं १७ का चुनावी कमाण्डर कृष्ण थापाले संसारको कुनैपनि तागतले कास्की २ को निर्वाचनमा नेकपालाई हराउन नसक्ने विश्वास व्यक्त गरे ।

आफ्नो ठाउँमा पराजित भएका व्यक्तिहरु कास्कीमा आएर नेकपा विरुद्ध बोल्नु लाजमर्दो विषय भएको भन्दै अध्यक्ष थापाले अत्यधिक बहुमत सहित विद्याको जीत सुुनिश्चित भएको बताए । सो अवसरमा बोल्दै उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखरा १७ पर्यटकीय र धार्मिक हिसावले उत्कृष्ठ रहेको भन्दै उक्त वडा सहित समग्र पोखरामा आवस्यक विकासको जिम्मा आँफूले लिने उद्घोष गरिन् । “यहाँ थुप्रै पर्यटकीय स्थलहरु छन् त्यसको विकासका लागि म जिम्मेवार भएर अघि बढ्छु ” उनले भनिन् ।

सो अवसरमा कार्यक्रममा नेकपाको पोखरा महानगर कमिटि अध्यक्ष दिपक पौडेलले वडामा रहेका ८० प्रतिशत मत नेकपाको सूर्य चिन्हमै आउने दावी गरे ।दोविल्ला हुँदै सीतापाईलास्थित समृद्धि टोल, महतगौँडा, रातोपैह, घारीपाटन लगायतका क्षेत्रमा सोमबार नै घरदैलो कार्यक्रम भईरहेको छ । यता पोखराको कृष्ति नाच्नेचौरमा भविष्यनिर्माण बुथको कार्यालय उद्घाटन गरिएको छ । सोमबार आयोजित कार्यक्रममा यूवा नेता झपट रानाभाट र श्रीराम सुवेदीले संयुक्तरुपमा कार्यालय उद्घाटन गरेका हुन् । भगवान रामचन्द्रको अयोध्याजस्तै नेकपाको लालकिल्ला भएको ठाउँमा बुथ कार्यालय स्थापना गरिएको रानाभाटले बताए ।

प्रकाशित मिति : November 18, 2019 at 5:13 pm