ललितपुरको आश्रयस्थलबाट ९ शिशु गायब !
२ मंसिर, ललितपुर । ललितपुरको गोदावरी ३, टौखेलस्थित एउटा आकर्षक भवनमा छ- ‘भ्रुणको आवाज’ । नामजस्तै यो गैरसरकारी संस्थाले बलात्कारलगायत घटनाबाट इच्छाविपरीत गर्भवती भएका व्यक्तिलाई आश्रय दिन्छ । प्रसूतिमा रेखदेख गर्छ । त्यसपछि शिशु आफूले राखेर महिलालाई फिर्ता पठाइदिन्छ ।
तर, ती शिशु बढ्ने क्रमसँगसँगै त्यहाँबाट गायब हुन्छन् । कहाँ लगिइन्छन् त ती ? हराएका तिनै ९ बालबालिकाबारे सरकारले ३ महिनादेखि अनुसन्धान गरिरहेको छ ।
यसबारे सम्बन्धित महिलाको आफन्तले उजुरी गरेका थिए । रकममा किनबेच गरेको सिकायतपछि गृह मन्त्रालयले छानबिन गराएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल नेतृत्वमा खटेको प्रहरीसहितको टोलीले कात्तिक २० गते प्रतिवेदन बुझाएको थियो ।
त्यसलाई गृह मन्त्रालयमा पठाएको जिल्ला प्रशासनले जनाएको छ । गोप्य अनुसन्धान भनिएको उक्त प्रतिवेदनअनुसार ९ बालबालिकालाई ‘स्थापित परिवारमा हस्तान्तरण गरेको’ विवरण संस्थाले पेस गरेको देखिएको अन्नपूर्ण पोस्टमा खबर छ । भुसाल नेतृत्वको टोली अनुसन्धान गर्न दसैंअघि संस्थामा पुगेको थियो । त्यति बेला संस्थाका कर्मचारीले ती बालबालिका ‘योग्य परिवारमा दिइएको’ भने पनि कागजातपत्र नदेखाएको भुसालले जानकारी दिए । ‘संस्थाको भवन भव्य र व्यवस्थित रहेछ’, उनले भने, ‘भौतिक सुविधा राम्रो भए पनि आफैं बालबालिका हस्तान्तरण गर्नु कतिसम्म कानुनी वा गैरकानुनी हो भन्ने प्रश्न छ । सबै तथ्य अहिले नै भन्न मिल्दैन ।’

‘भ्रुणको आवाज’ मा १० किशोरी तथा महिलाले बच्चा जन्माएको उक्त संस्थाका कार्यकारी निर्देशक सोमन राईले बताए । ‘तीमध्ये एकको मृत्यु भयो । अन्य ९ जनालाई आमाले नै योग्य परिवारमा हस्तान्तरण गरेका हुन्’, दाबी उनले गरे ।
अनुसन्धानले भने संस्थाले आफूखुसी बालबालिका दिएको पाएको छ । बालबालिका कसैलाई दिन पाउने कानुनी प्रावधान छैन । बच्चा स्थापित परिवारमा दिँदा ‘मध्यस्थता’को भूमिका खेल्ने संस्थाको विधानमा लेखिएको छ । तर, कानुनी रूपमा मध्यस्थताको भूमिका जिल्ला प्रशासन कार्यालयले मात्रै निर्वाह गर्ने जानकारी आफूले पाएको उनले स्वीकार गरे ।
‘विधान संशोधन गर्न जिल्ला प्रशासन गए पनि तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारीले पढ्दै नपढी पुरानो विधानले काम गर्छ भन्नुभयो,’ उनको भनाइ छ, ‘उहाँले चित्त नबुझे फाइल त्यहीं छाड्नु भन्नुभयो । संस्थाको फाइल सीडीओ कार्यालयमै छ ।’ बालबालिका लैजाने ‘योग्य परिवार’ बारे भने उनले खुलाएनन् ।
प्रकाशित मिति : November 18, 2019 at 7:03 am







