१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

उपप्रधानमन्त्री पोखरेल युएई प्रस्थान

३० कात्तिक, काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल युनाइटेड अरब इमिरेटस्का प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गर्नु भएको छ । दुबईमा उहाँले द्विपक्षीय उच्चस्तरीय छलफल तथा भेटघाट गर्नुका साथै ‘दुबई एयर–शो’मा सहभागी हुने कार्यक्रम छ ।

‘एअर–शो’को पहिलो दिन आइतबार हुने उद्घाटन समारोह तथा मुख्य प्रदर्शनीमा उपप्रधानमन्त्री पोखरेलले आतिथ्यता गर्नु हुनेछ । त्यस्तै उहाँले त्यहाँका शेख, राजकुमार, दुबई व्यापारिक समाजका नेतृत्व तथा युएई सरकारका उच्च अधिकारीहरुसँग भेटघाट तथा विभिन्न पक्षसँग छलफल गर्नु हुनेछ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल युएई सरकारको प्रधान तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा शनिबार त्यसतर्फ प्रस्थान गर्नुअघि उहाँलाई बिदाइ गर्दै रक्षासचिव रेश्मीराज पाण्डेलगायत । तस्बिर, सौजन्यः उपप्रधानमन्त्रीको सचिवालय

उहाँले आर्थिक समृद्धिका लागि विदेशी लगानी भित्र्याउन प्राथमिकता दिने सरकारको नीतिअनुरुप नेपाली समुदाय तथा विदेशी लगानीकर्तासँग औपचारिक छलफल गर्नुहुने छ । नेपाली दूतावास आबुधाबी र नेपाली विजनेस काउन्सिल दुबईको संयुक्त आयोजनामा सोमबार साँझ नेपाली तथा विभिन्न देशका व्यवसायी एवम लगानीकर्तासँग ‘नेपालमा लगानीका सम्भावना’ सम्बन्धमा उपप्रधानमन्त्री पोखरेलले दुबई च्याम्बर अफ् कमर्सका उच्च अधिकारीसँग भेटघाट तथा विशेष छलफल गर्नुहुने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिनुभयो ।

सन् १९८६ देखि युएईले ‘दुबई एअर शो’ को आयोजना गर्दै आएको छ । विभिन्न देशले एअर शोलाई शक्ति प्रदर्शनको रुपमा समेत लिने गरेका छन् । यस प्रदर्शनीमा नेपाल पहिलो पटक उच्चस्तरीय नेतृत्वसहित सहभागी हुन लागेको हो ।

भ्रमण टोलीमा नेपाली सेनाका पूर्वी पृतना हेडक्वार्टरका पृतनापति उपरथी अनन्त कार्की, परराष्ट्र मन्त्रालयको मध्य तथा पश्चिम एशिया र अफ्रिका महाशाखाका सहसचिव हरिश्चन्द्र घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्रीका स्वकीय सहसचिव दीपेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्छ । उहाँहरुलाई रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे र नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तण्डुललगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा बिदाइ गर्नुभयो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री मङ्सिर ४ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : 12:55