१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

इलाममा सूर्योदय नगर महोत्सव हुने

२९ कात्तिक, काठमाडौँ । सुदूरपूर्वको पर्यटकीय क्षेत्र इलाममा सूर्योदय नगर महोत्सव आयोजना हुने भएको छ । सूर्योदय नगरपालिकाले आगामी मङ्सिर १४ देखि १८ सम्म प्रथम सूर्योदय नगर महोत्सव आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सरकारको घोषणा गरेको १०० पर्यटन गन्तव्यमध्ये प्रदेश नं १ को मुख्य पर्यटकीयस्थल कन्याम फिक्कल श्रीअन्तु सर्किट पर्यटकको लागि महत्वपूर्ण आकर्षण रहेको नगरपालिकाका प्रमुख रणबहादुर राइले बताउनुभयो । अनुमानित रु ५० लाख खर्च हुने महोत्सवमा नगरपालिकाले २५ लाख लगानी गर्नेछ ।

प्रमुख राईका अनुसार भारतको दार्जेलिङ, सिक्किम, भूटान तथा बङ्गलादेशबाट समेत एकै दिनमा आइपुग्ने पहाडी गन्तव्य भएकाले सूर्योदय नगरपालिकाले भारतको मिरिक नगरपालिका तथा दार्जेलिङको स्थानीय सरकारसँग पनि सहकार्य गरिएको छ । पहाडी क्षेत्रमा भारतसँग सिमाना जोडिएको एकमात्र पक्की सुगम सडकमार्गबाट इलाम भित्रने पर्यटक बढिरहेको उहाँले बताउनुभयो ।

आकर्षक सूर्योदय अवलोकन गर्ने डाँडा श्रीअन्तु, चिया बगान फिक्कल, भारतसँग सिमाना जोडिएको बजार पशुपतिनगर, रेडपाण्डा संरक्षणस्थल गोर्खेलगायतका स्थानमा महोत्सवभर विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने तयारी भइरहेको बताउनुभयो । पर्यटन विकाशका लागि पूर्वाधार आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

जम्मा ७३ चिया उद्योग रहेको नगरपालिकालाई ‘टि टेस्टिङ सेन्टर’को रुपमा विकास गर्ने तयारी भइरहेको नगरपालिका–९ का अध्यक्ष देवेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नगर क्षेत्रमा रहेका होटेल, रिसोर्ट तथा होमस्टेमा दैनिक तीन हजार ७५० पर्यटकलाई सेवा दिन सकिन्छ । सूर्योदय नगरपालिकाले यो वर्ष पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार १९:४७