१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

किलागल महोत्सव शनिबार गरिने

२९ कात्तिक, काठमाडौँ । भ्रमण वर्षलाई लक्षित ‘शुभकामना साँझ तथा किलागल महोत्सव’ यही कात्तिक ३० गते किलागलमा गरिने भएको छ । काठमाडौँ महानगरपालिका–१८ ले आयोजना गर्ने उक्त महोत्सवमा त्यस क्षेत्रका परम्परागत संस्कृति, पुराना बाजा तथा सङ्गीत एवं सम्पदाका चित्र प्रदर्शनीका साथै यमरी, बारा, समयबजीलगायत नेवारी परिकार खरीद बिक्रीको व्यवस्था छ ।

किलागल क्षेत्रका विभिन्न गुठी, सङ्घसंस्थाले परम्परागत धाबाजा, बाँसुरी, धीँलगायत बाजा बजाउने एवं गीत, नृत्य आदि सांस्कृतिक कार्यक्रमसमेत गरिने गरिएको वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले जानकारी दिनुभयो । वडाले त्यस क्षेत्रमा सञ्चालन गरेको व्यावसायिक परियोजनामा तालीम लिएर दक्ष भएका स्थानीयवासीले निर्माण गरेका हस्तकलाका विभिन्न सामग्रीको प्रदर्शन तथा किनबेच पनि गरिनेछ ।

स्थानीय नरदेवी र भेडासिंका बीच भागमा पर्ने किलागलमा गोपाल वंशमा विकास गरिएका जात्रा, पर्व र सम्पदालाई महोत्सवका आकर्षणका रुपमा देखाइनेछ । इन्द्रजात्रामा निकालिने पुलु किसी, नाट्येश्वर, राधाकृष्ण मन्दिर, गणेश मन्दिरलगायत सम्पदाको चित्रलाई पनि महोत्सवमा समेटिनेछ । गोपाल वंशकालदेखि नै त्यस क्षेत्रमा गाई, भैँसी पाल्ने तथा कृषिसम्बन्धी कार्य गर्ने समूह बसोबास गर्दै आएकाले तिनीहरुका पुराना संस्कृतिको संरक्षणका लागि पनि महोत्सव महत्वपूर्ण हुने अध्यक्ष महर्जनले विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : November 15, 2019 at 3:10 pm