१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

७ हजारकाे चेकलाई केरमेट गरी ७० हजार बनाएर बैंकबाट पैसा निकाल्ने प्रहरी जवान पक्राउ

२९ कात्तिक, जलेश्वर । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा विगत तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

प्रहरी जवान द्विवेदीले बिहीबार महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको राष्ट्रिय बाणिज्य बैंक जलेश्वर शाखामा आफ्नै नामको तीन हजारको एउटा र चार हजारको अर्को चेक गरी जम्मा रु सात हजारको चेक बैंकमा माथिल्लो कोठाबाट सदर गरी पुनः रु तीन हजारका स्थानमा रु ३० हजार र रु चार हजारको स्थानमा रु ४० हजार लेखेर सो बैंकबाट रु सात हजारको ठाउँमा रु ७० हजार झिकेको बैंकका प्रबन्धक शिवशंकर यादवले बताउनुभयो ।

बैंकमा बिहीबार बेलुका हिसाब मिलान गर्दा हिसाब नमिलेपछि सबै चेकलाई जाँचबुझ गर्दै जाँदा प्रहरी जवान द्विवेदीले आफ्नै दुवै चेकमा केरमेट गरेको भेटिएपछि बैंक प्रबन्धक यादवले राति नै महोत्तरीका प्रहरी उपरीक्षक अधिकारीलाई सो कुराको जानकारी गराएपछि प्रज द्विवेदीलाई प्रहरी कार्यालयमा पक्राउ गरी राखिएको हो । प्रहरी उपरीक्षक अधिकारीले कीर्ते र ठगी गर्ने व्यक्ति प्रहरी हुनलायक नरहेको बताउनुहुँदै प्रहरी जवान द्विवेदीलाई कारवाहीस्वरुप निलम्बन गरिने प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

प्रकाशित मिति : November 15, 2019 at 2:20 pm