आफ्नै गुप्तचर राख्न विधेयक ल्याउँदै प्रदेश २ सरकार
२६ कात्तिक, जनकपुर । प्रदेश २ सरकारले आफ्नो छुट्टै अनुसन्धान ब्युरो (गुप्तचर) राख्न विधेयक तयार पारिरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहाले संविधानले दिएको अधिकार प्रयोग गरी प्रदेश अनुसन्धान ब्युरो गठन गर्न विधेयक ल्याउन लागिएको बताए । यसअघि प्रदेश सरकारले प्रदेश प्रहरीसम्बन्धी विधेयक संसद्बाट पारित गरिसकेको छ ।
प्रदेश सरकारले प्रदेश अनुसन्धान ब्युरो गठनका लागि चाहिने विधेयक निर्माण प्रक्रियालाई अगाडि बढाइसकेको भन्दै राज्यमन्त्री कुशवाहाले भने, “विधेयक अहिले कार्य व्यवस्था समितिबाट पारित भएर कानुन मन्त्रालयमा आइसकेको र अब प्रदेशसभामा दर्ता हुनेछ ।”

केन्द्रमा रहेको राष्ट्रिय अनुसन्धान ब्युरोले गर्ने प्रवृत्तिकै काम प्रदेश अनुसन्धान ब्युरोले गर्नेछ । केन्द्रीय ब्युरोले देशभरि काम गर्छ भने प्रदेश अनुसन्धान ब्युरोले प्रदेशभरि सूचना संकलनलगायत काम गर्ने उल्लेख गर्दै उनले संविधानमा उल्लेख भएअनुसारै प्रदेश अनुसन्धान ब्युरो गठन हुन लागेकाले यसमा विवाद गर्ने ठाउँ नरहेको बताए ।
अहिलेसम्म प्रदेशसभाबाट विभिन्न शीर्षकका २१ विधेयक पारित भई कानुनको रुप लिइसकेको र अझ दर्जनौँ विधेयक दर्ता हुने अवस्थामा रहेका मन्त्रालयले जनाएको छ । -रासस
प्रकाशित मिति : 09:40







