भारतले नेपालको भूमि मिचेकै हो, तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नु पर्दछः अध्यक्ष प्रचण्ड
२५ कात्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् । अध्यक्ष प्रचण्डले भारतले नेपालको कालापानीमा भूमि मिचेको भन्दै ती समस्या समाधानका लागि तत्काल दुई मुलुकबीच उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने बताएका हुन् ।

सोमबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बाेल्दै अध्यक्ष प्रचण्डले सो समस्यालाई अन्तराष्ट्रियकरण गरिहाल्न भने नमिल्ने तर्क गरे । अध्यक्ष प्रचण्डले भने, ‘मुलुकको सार्वभौम अधिकार कायम गर्न नेपाल सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नु पर्दछ, यस विषयलाई तत्काल अन्तराष्ट्रियकरण भने गर्नु हुँदैन, त्यसले नेपाललाई फाईदा गर्दैन ।’ अध्यक्ष प्रचण्डले लिम्पियाधुरा महाकाली नदीको मुहान भएको र यसको पूर्वको सबै भूभाग नेपालको भएको तथ्य औंल्याउँदै त्यसैको आधारमा नेपाल सरकारले भारत सरकारसँग संवाद गर्नुपर्ने पनि स्पष्ट पारे । सीमा समस्याको विषयलाई लिएर दुई देशबीचमा उत्तेजना फैल्याउने काम कसैले गर्न नहुने पनि पटकपटक दोहोर्याए ।
प्रकाशित मिति : 14:41









