१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

अब सहकारीहरू पनि सामाजिक सुरक्षा कोषमा, निजी क्षेत्रका श्रमिकको भविष्य सुनिश्चत बन्दै

२५ कात्तिक, काठमाडाैँ । अब देशभरका सहकारी संस्था पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनेभएका छन । सहकारीहरू कोषमा सूचीकृत हुँदा करिब ५ लाख श्रमिकले योगदानमा अाधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुन पाउनेछन । सोमबार बिहान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सहकारी संघसंस्थाका प्रतिनिधिसँग छलफल गरेपछि उनीहरू कोषमा सूचीकृत हुने प्रतिवद्धता जनाएका हुन ।

उनीहरूको सरकारको साथ र सहयोग भए आफूहरु सामाजिक सुरक्षा कोषमा जाने प्रतिबद्धता जनाएको मन्त्री विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए । छलफलमा मन्त्री विष्टले सामाजिक सुरक्षा कोषमा सहभागी हुनका लागि सहकारी क्षेत्रले देखाएको तत्परताका लागि धन्यवाद दिंदै सबै सहकारी र त्यसमा कार्यरत श्रमिकलाई कोषमा सहभागी गराउन निर्देशन दिए ।  मन्त्री विष्टले सहकारी सहित सबैलाई अतिरिक्त करको भार नपर्ने गरी सरकारले पहल गरिरहेको बताए ।

छलफलमा सामाजिक सुरक्षा कोषको बारेमा सहकारी संघ मातहतका प्रशिक्षकलाई प्रशिक्षित गर्ने र उनीहरुलाई सबै जिल्लामा जागरणका लागि पठाउने विषयमा समेत सहमति भएको खनालले जानकारी दिएका छन । उनले काठमाण्डौ उपत्यकाका सहकारीको लागि आउँदो शुक्रबार नै प्रशिक्षण कार्यक्रम गराउने निर्णय भएको पनि बताए । मन्त्रीसँगको छलफलमा नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष डीबी कार्की, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, साना किसान सहकारी संघका सञ्चालक सहित पदाधिकारी तथा कोषका प्रमुख कार्यकारी अधिकृत कपिलमणि ज्ञवालीकाे सहभागी रहेका थिए ।

प्रकाशित मिति : November 11, 2019 at 1:50 pm