१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा ओली !, सचिवालय बैठक आजै

२५ कात्तिक, काठमाडौं । सरकार गठन भएको २० महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । यसैका लागि आज नेकपाको पार्टी सचिवालय बैठकसमेत बोलाइएको छ । उसो त प्रधानमन्त्री सचिवालयका साथै मन्त्रिपरिषद् हेरफेर गर्नेबारे हिजो (आइतबार) ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए ।

सायद आज बस्ने सचिवालय बैठकको निर्णयबाटै मन्त्रिपरिषद् पुनर्गठनको बाटो खुल्नेछ । अझ प्रधानमन्त्रीकै चाहनाअनुसार सचिवालयका सबै सदस्यले मंसिर १ देखि लागू हुने गरी राजीनामा दिइसकेको अवस्थासमेत छ । स्रोतका अनुसार मंसिर १४ को उपचुनावअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी छ ।

मन्त्रीहरूको कार्यशैली चुस्त र प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता गरे पनि अपेक्षित परिणाम नआएपछि प्रधानमन्त्री असन्तुष्ट थिए । केही समयअघि भएको समीक्षामा कामै नभएको भन्दै ओलीले मन्त्रीहरुसँग असन्तुष्टि जनाएका थिए । नेकपा अध्यक्षसमेत रहेका ओलीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्न पार्टीभित्रैबाट पनि दबाब थियो  । मन्त्रीहरू फेर्ने कुरामा अर्का अध्यक्ष दाहालको पनि सहमति छ  । स्रोतका अनुसार हिजोको भेटमा दुई अध्यक्षबीच कुन–कुन मन्त्रीलाई हटाउने र कसलाई ल्याउने भन्नेबारे प्रारम्भिक छलफल भएको छ । तर, मन्त्रिपरिषद् पुनर्गठनबारे दुई अध्यक्षबीच छलफल भए पनि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग भने कुराकानी भएको छैन  ।

प्रकाशित मिति : 08:42