१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

फाल्गुनन्दले जारी गरेको सातबुँदे समाज सुधारको मुचुल्का आज पनि उत्तिकै सान्दर्भिकः प्रधानमन्त्री

२५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्दको जीवनसँग विभिन्न समयमा गाँसिएका महत्वपूर्ण ठाउँहरुलाई पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । उहाँले ती ठाउँहरुमा पर्यटकीय पूर्वाधार निर्माणका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्नुभएको छ ।

राष्ट्रिय विभूती तथा किराँतधर्मका महागुरु फाल्गुनन्दको १३५ औं जन्म जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले फाल्गुनन्दको जन्मभूमि चुक्चीनम्बा, ज्ञानभूमि फूलुङ्गी, कर्मभूमि सिलौती लोब्रे र तिर्थभूमि फक्ताक्लुङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको हो ।

पूर्वी नेपालको इलाममा जन्मनुभएका फाल्गुनन्दले समाज सुधारका लागि ठूलो योगदान गर्नुभएको प्रधानमन्त्रीको भनाइ छ । “त्यसबेलाको किराँत समुदायको सामाजिक सुधार अभियानका लागि उहाँले वि.सं. १९८८ वैशाखमा जारी गर्नुभएको सातबुँदे समाज सुधारको मुचुल्का आज पनि उत्तिकै सान्दर्भिक छ,” शुभकामना सन्देशमा भनिएको छ, “सत्य, दया, शान्ति र अहिंसा सिद्धान्त बोकेका फाल्गुनन्दले विश्व शान्ति र मानव एकताको लागि दिनु भएको शिक्षा आज पनि मननीय छन् ।”

छोरा सरह छोरीलाई पनि अंश दिनुपर्ने, विद्यालयको स्थापना गर्नुपर्ने, हिंसा रहीत समाज निर्माण गर्नुपर्ने फाल्गुनन्दको अभियानले आज पनि समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन प्रेरित गरेको प्रधानमन्त्रीले बताउनुभएको छ । फाल्गुनन्दको योगदानको कदर गर्दै अघिल्लो पटक आफू प्रधानमन्त्री भएका बेला फाल्गुनन्दको जन्मदिनका कात्तिक २५ गतेका दिन इलाम आसपासमा सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रधानमन्त्रीले स्मरण गर्नुभएको छ ।

प्रकाशित मिति : November 11, 2019 at 8:21 am