१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

कालापानी सीमा विवाद : हामीसँग बलिया प्रमाण छन्

२५ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले लिम्पियाधुराबाट आएको काली नदी नै नेपाल र भारतको सिमाना भएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री खनालले सुगौली सन्धिले काली नदीलाई स्पष्ट रूपमा सिमाना किटान गरेको चर्चा गर्दै लिम्पियाधुरा नै काली नदीको मूलप्रवाह भएको स्पष्ट पारे । ‘लिम्पियाधुरा नै नेपाली भूमिको सिमाना हो भन्नेमा कुनै विवादै हुन सक्दैन । त्यसका थुप्रै प्रमाण छन्,’ उनले भने । उनले सीमा नदीका विषयमा विवाद देखिए ‘हाइड्रोलोजी’ (जलवायु विज्ञान) अध्ययनमार्फत किनारा लगाउन सकिने बताएको गोरखापत्र दैनिकले खबर छापेको छ ।

उनले ढिलो भए पनि कालापानीको विषय महत्त्वपूर्ण ढंगले उठेको चर्चा गर्दै राष्ट्र एकताबद्ध र एकढिक्का भएर नेपाली भूमि फिर्ता ल्याउन पहल गरिनुपर्ने बताए । उनले भने, ‘हामीसँग बलिया प्रमाणहरू छन् । मुलुकले अब पहलकदमी गरेर समस्या समाधान गर्नुपर्छ ।’

नेता खनालले कालापानी समस्या समाधानका लागि पहिलो चरणमा सरकारले ‘पोजिसन पेपर’ तयार पार्नुपर्नेसमेत बताए । उनले छिमेकी देशहरूसँग नेपालको सीमा विवादमा समाधान खोज्ने यो उपयुक्त समय भएको भन्दै सिमानालाई अन्तर्राष्ट्रिय अभिसन्धि र कानुनअनुसार व्यवस्थित बनाइनुपर्नेमा जोड दिए । उनले भने, “दसगजा भनेको ‘नो मेन्सल्यान्ड’ हो । कसैले दुरुपयोग गर्न पाउँदैन । तर हाम्रा कैयौँ ठाउँमा दसगजामा समस्या देखिएका छन् । त्यसलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्नुपर्ने छ ।’

प्रकाशित मिति : 07:26