१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

विदेशी विश्वविद्यालयको सम्बन्धनप्राप्त कलेजको ठगीमा अंकुश, अब छात्रवृत्तिको निर्णय सरकारले गर्ने

२४ कात्तिक, काठमाडाैँ । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका शिक्षण संस्थाहरूले उपलब्ध गराउनुपर्ने छात्रवृत्तिका लागि सरकारले नै विद्यार्थी छनोट गर्ने भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन । त्यस्ता शिक्षण संस्थाहरूले अनिवार्य रूपमा कुल भर्नाको १० प्रतिशत निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने बाध्यात्मक नियम छ । यस्तो नियम भए पनि अधिकांश शिक्षण संस्थाहरूले छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्दै आएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव रामशरण सापकोटाले कानुनले तोकेअनुसारको छात्रवृत्ति उपलब्ध गराउन त्यस्ता शिक्षण संस्थाहरू सहमत भएको जानकारी दिँदै भन्नुभयो, “छात्रवृत्ति प्राप्त गर्नका लागि विद्यार्थी छनोट मन्त्रालयले नै गरेर सम्बन्धित शिक्षण संस्थामा सिफारिस गर्नेछ । सिफारिस गरिएका विद्यार्थीलाई उनीहरूले निःशुल्कमा अध्यापन गर्नुपर्ने हुन्छ ।” त्यस्ता शिक्षण संस्थाहरूले विद्यार्थी छनोट गर्दा पारदर्शी नहुने र भनसुनका वा आफन्तलाई छात्रवृत्ति उपलब्ध गराउने सम्भावना हुनसक्ने देखिएकाले मन्त्रालयले परीक्षा सञ्चालन गरी विद्यार्थी छनोट गर्ने भएको हो ।

एडभान्स (ए) लेबलदेखि स्नातकोत्तर तहसम्म अध्यापन गर्न विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाबाट सम्बन्धन लिई नेपालमा ९५ वटा शिक्षण संस्थाले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तीमध्ये धेरैजसो एलेभलका छन् र अधिकांश उपत्यकामा सञ्चालित छन् ।

प्रकाशित मिति : November 10, 2019 at 6:24 am