१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

तनहुँमा ४ महिनामा सक्नेगरी सम्झौता गरेकाे सडक कालोपत्र ४२ दिनमै सम्पन्न

२२ कात्तिक, दमौली । तनहुँको भिमाद नगरपालिका–२ जिलाङस्थित फूलबारी मोटरमार्गको कालोपत्र गर्ने कार्य सम्झौता भएको ४२ दिनमै सम्पन्न भएको छ । भिमाद नगरपालिका र स्थानीयवासीको सहभागितामा शुरु गरिएको कालोपत्रको काम ४२ दिनमै सम्पन्न भएको हो ।

मोटरमार्ग कालोपत्रका लागि असोज ९ गते सम्झौता भएकामा यही कात्तिक २१ गते ६०० मिटर सडकको कालोपत्र सम्पन्न भएको फूलबारी मोटरमार्ग कालोपत्र योजना उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर थापाले जानकारी दिनुभयो । “मोटरमार्ग कालोपत्र गरिसक्नुपर्ने अन्तिम मिति माघ १० गतेसम्म थियो”, थापाले भन्नुभयो, “तर हामीले सम्पन्न गर्ने मितिभन्दा अगावै कालोपत्रको काम सकेका छाैँ ।”

फाइल फाेटाे

मोटरमार्ग कालोपत्रका लागि कूल रु २५ लाख ३५ हजार ९१८ खर्च भएको छ । जसका लागि भिमाद नगरपालिकाले रु १७ लाख ३० हजार ७६४ र स्थानीयवासीले रु आठ लाख पाँच हजार १५३ लगानी गरेका छन् । अध्यक्ष थापाका अनुसार यहाँका ४१ घरधुरी यो मार्गबाट लाभान्वित भएका छन् । सडक कालोपत्रका लागि प्रतिघर रु १५ हजार सङ्कलन गरिएको थियो ।

साथै विभिन्न सहयोगदाताबाट कालोपत्रका लागि रु एक लाख ९० हजार १५३ प्राप्त भएको थियो । सडक कालोपत्रका लागि बेलायत, भारत, कावासोती लगायतका ठाउँबाट सहयोग प्राप्त भएको थियो ।“छोटो समयमै गुणस्तरीय काम गर्न सफल भएका छौँ”, थापाले भन्नुभयो, “सडक कालोपत्र भएपछि यहाँका स्थानीयवासी धुलोबाट मुक्त भएका छन् ।” कच्ची सडक हुँदा धुलोले स्थानीयवासीलाई समस्या हुने गरेको थियो ।

भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले लागत साझेदारीमा स्थानीय उपभोक्ताले नमूना काम गरेर देखाएको बताउनुभयो । “बजारभन्दा बाहिरका गाउँमा पहिलो पटक लागत साझेदारीमा सडक कालोपत्र सम्पन्न गरेका छौँ”, नगरप्रमुख थापाले भन्नुभयो, “यो कार्य सफल भएको छ, अन्य ठाउँमा पनि लागत साझेदारीमा सडक कालोपत्र गर्ने प्रक्रिया अगाडि बढाउँछौँ ।”

नगरपालिकाले नगरक्षेत्रभित्र रहेका कच्ची सडक कालोपत्र गर्ने कामलाई प्राथमिकतामा राखेको भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले बताउनुभयो । थापाका अनुसार सडक कालोपत्र नभएका गाउँलाई प्राथमिकताका आधारमा कालोपत्र गरिनेछ ।

प्रकाशित मिति : November 8, 2019 at 10:08 am