१२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026

लिपुलेकबारे भारतको ध्यानाकर्षण गर्न राप्रपा संयुक्तका अध्यक्ष लोहनीकाे माग

२० कात्तिक, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नेपालको भूभाग लिपुलेक भारतले नयाँ नक्सामा समेटेको विषयमा सरकारले अविलम्ब भारतको ध्यानाकर्षण गर्नुपर्ने माग गर्नुभएको छ । पार्टीका अध्यक्ष डा लोहनीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा लिपुलेक (कालापानीदेखि मेची–महाकालीभित्र) को जग्गा नेपाल र नेपाली जनताको लालपूर्जा भएकाले यसको स्वामित्व नेपालको हुनेहुँदा यसमा तलमाथि हुन नदिन सरकारलाई आग्रह गरिएको छ ।

भारत सरकारले प्रकाशित गरेको नक्सामा देखिएको गल्तीलाई सच्याउनुपर्ने पार्टीको आधिकारिक धारणा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । भारतले हालै कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरी सार्वजनिक गरेको नक्सा अनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र नक्साभित्र समेटेको पार्टीले जनाएको छ ।

लामो समयदेखि भारतले अतिक्रमण गरेर राखेको यो क्षेत्रलाई भारतले गत ३१ अक्टोबरदेखि अस्तित्वमा आएका दुई भिन्नाभिन्नै केन्द्रशासित प्रदेश (युनियन टेरिटरी) जम्मु–कश्मीर र लद्दाखसहितको देशको औपचारिक राजनीतिक नक्सा गएको शनिबार सार्वजनिक गर्दा नेपालको भूभाग पनि आफ्नो सीमाभित्र मिसाएको पार्टीले जनाएको छ ।

नापी विभागले गत फागुनमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा सार्वजनिक गरेको नेपालको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटिएको छ । यो क्षेत्र भारतले अतिक्रमण गरेको भन्दै नागरिक अगुवा, अधिकारकर्मी, विभिन्न विद्यार्थी सङ्गठनलगायतले विरोध जुलुस निकालेका छन् ।

केही वर्ष अगाडि तत्कालीन एमाले सम्बद्ध विद्यार्थी सङ्गठनले लिपुलेक पुगेर ‘लिपुलेक हाम्रै हो’ भन्दै राष्ट्रिय झण्डा फहराएका थिए । दार्चुला जिल्लामा पर्ने लिपुलेकको जनगणना विसं २०१८ मा पहिलोपटक तत्कालीन सरकारले गरेको अभिलेख छ ।

यसैबीच उक्त पार्टीले यही कात्तिक २८ गतेदेखि आगामी मङ्सिर ४ गतेसम्म देशका विभिन्न स्थानमा गर्न लोगेको धार्मिक यात्रामा सम्बन्धित क्षेत्रका पार्टीका नेता तथा कार्यकर्तालाई सहभागी हुन निर्देशन दिएको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो । जनकपुरको जानकी मन्दिर परिसरबाट शुरु हुने यात्रा महोत्तरी, सर्लाही, रौतहट, मकवानपुर, नवलपरासी हुँदै लुम्बिनीमा आएर समापन हुनेछ ।

प्रकाशित मिति : 19:12