१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

ड्युटी सकेर सुतेका प्रहरी निरीक्षक बेहोस, उपचारका क्रममा मृत्यु

सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको छ ।मङ्गलबार साँझसम्म ड्युटी गरेर खाना खाएर सुतेका थापा बिहान एक्कासि बेहोस भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको थियो ।

उपचारका क्रममा उनको मुत्यु भएको सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लाका प्रहरी उपरीक्षक सरत न्यौपानेले बताउनुभयो । सशस्त्र प्रहरी निरीक्षक थापा दैलेख जिल्ला नारायणी नगरपालिका–८ निवासी हुन् ।‘निरीक्षक थापा मङ्गलबार राम्रोसँग ड्युटी भ्याएर खाना खाएर सकुशल सुतेका थिए । आज बिहान एक्कासि बेहोस भएको थाहा पाएपछि उपचार गर्न लगेका हौँ । तर बचाउन सफल भएनौँ”, उपरीक्षक न्यौपानेले भन्नुभयो, “डाक्टरका अनुसार हृदयाघातका कारण मृत्यु भएको आशङ्का छ ।”

अब परिवारसँग खबर गरेर गाडी वा अन्य सवारीसाधनमा उनकै जिल्ला पठाएर कानूनी प्रक्रियाअनुसार दाहसंस्कार गरिने पनि उपरीक्षक न्यौपानेले बताउनुभयो । मृतक थापा एक वर्षदेखि जुम्लामा बसेर सेवा गर्दै आएका थिए ।

प्रकाशित मिति : November 6, 2019 at 3:14 pm