भारतीय विस्तारवादविरूद्ध अनेरास्ववियू सडकमा, प्रदर्शनमा सहभागी हुन संयोजक महरको अपिल
२० कात्तिक, काठमाडाैँ । भारतीय विस्तारवादको विरूद्धमा अनेरास्ववियू सडकमा निस्कने भएको छ । भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको बिरोधमा अनेरास्ववियुले सडकमा प्रदर्शन गर्न लागेको हो । अनेरास्ववियूका संयोजक ऐन महरले भारतीय बिस्तारवादको भन्डाफोरका लागि आजै विशाल प्रदर्शन गर्न लागिएको दैनिकीलाइ जानकारी दिए ।

महरले दिउँसो ३ बजे प्रदर्शनी मार्गको आरआर क्याम्पसबाट प्रदर्शन सुरू गर्ने बताए । उनले भारतीय बलमिच्याँइको प्रतिवाद गर्न नेपाली युवा विद्यार्थी सधैँ तयार रहेको पनि बताए । महरका अनुसार अनेरास्ववियूले सामाजिक सञ्जालमा #Go_Back_India भन्ने ह्यसट्याग समेत चलाएको छ । महरले साथै देशब्यापी रुपमा सबै जिल्लामा आजै बिरोध प्रदर्शन गर्न सम्पुर्ण अनेरास्ववियूका मातहत कमिटी र नेता कार्यकर्तामा समेत अनुरोध गरेका छन ।

दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ । यसअघि पनि यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो । जम्मू–कश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको हो । भारतले सार्वजनिक गरेको नक्साअनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र मि नक्साभित्र समेटेको छ ।
प्रकाशित मिति : 10:25









