७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

१९ कात्तिक, काठमाडौँ । नागार्जुन नगरपालिकाले हरिबोधिनी एकादशीमा सार्वजनिक बिदा दिने भएको छ । कात्तिक २२ गते परेको हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको नागार्जुन नगरपालिका उप–प्रमुख सुशीला अधिकारीले जानकारी दिनुभयो ।

नगरपालिकाभित्र रहेको नेपालकै चार नारायण मध्येको कान्छो नारायण मन्दिरको नाममा परिचित तथा राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत इचङ्गुनारायण मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह) का दिन विशेष मेला लाग्ने भएको हुनाले नगरपालिकामा स्थानीय पर्वको रूपमा सो दिन सार्वजनिक बिदा दिने भएको उप–प्रमुख अधिकारीले बताउनुभयो ।

उक्त दिन नगरपालिकाअन्तर्गत रहेका नगरपालिका, वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक बिदा हुने बताइएको छ । प्यागोडा शैलीमा बनेको दुईतले इचङ्गुनारायण मन्दिरमा शङ्ख, चक्र, गदा र पद्म लिएका नारायणको मूर्ति रहेको छ । सो मन्दिरमा ठूलो एकादशी, हरिशयनी एकादशी र हरिबोधिनी एकादशीमा विशेष मेला लाग्ने गर्छ ।

प्रकाशित मिति : November 5, 2019 at 7:02 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/