महरामाथिको मुद्दाकाे थुनछेक बहस सकियो, केही बेरमा आदेश आउँदै
१८ कात्तिक, काठमाडाैँ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको मुद्दाको थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडाैँमा साेमबार महराका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटाले बहस गर्नुभएको थियो । आइतबार महराकाे पक्षबाट अधिवक्ता भोजराज आचार्य र लभप्रसाद मैनालीले बहस गर्नु भएकाे थियाे । आइतबार बहस नसकिएपछि साेमबारलाई हेर्दाहेर्दैमा राखिएकाे थियाे ।

साेमबार महराकाे पक्षबाट बहस सकिएपछि सरकारी वकिलले कानुनी प्रतिवाद गरेका थिए । न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासमा बहस भएको हो । राेशनी शाहीले बन्द इजलासमा बाेल्ने अनुमति मागे पनि न्यायाधीस पाण्डेले अनुमति दिएनन् । बहस सकिएसँगै अहिले फैसला तयार गर्ने काम भइरहेको छ । अब महरालाई धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारगार नै चलान गर्ने भन्नेबारेमा अदालतले फैसला गर्ने छ ।
महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि गएकाे असाेज १९ गते प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाण्डौले गएको बिहीबार करणी प्रयास गरेको अभियोगमा काठमाडाैँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
प्रकाशित मिति : November 4, 2019 at 4:55 pm









