क्यासिनो किङ बलेसहित २५ भिआइपी जुवाडेको सम्पत्ति छानविन गरिने
१७ कात्तिक, काठमाडौँ । भिआइपी जुवाखालबाट पक्राउ परेका २५ जुवाडेको सम्पत्ति छानविन गरिने भएकाे छ। महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले १० कात्तिकमा काठमाडौँ –३, पिपलमार्गस्थित विक्रम गौतमको घरमा छापा मारेर नियन्त्रणमा लिइएका क्यासिनो किङ भनेर चिनिने बलराम सापकोटासहित २५ जनामाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि छानविन गर्ने भएको हो ।

पक्राउ परेका बलराम सापकोटासहित ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम, मुक्ति लामा लगायतले जुवामा प्रयोग गरेको रकमको स्रोत नखुलेको भन्दै प्रहरीले सम्पत्ति शुद्धीक्ररण विभागलाई पत्र काटेको हाे ।
पक्राउ परेकामध्ये ११ जुवाडेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पनि दायर गरेपनि जिल्ला अदालत, काठमाडौँले ७ दिनको म्याद थप गरेपछि उक्त रिटमा सर्वोच्चले सुनुवाइ गरेन । पक्राउ परेका जुवाडेकाे साथबाट २ करोड ४७ लाख रुपैयाँ नगद, बैंक अफ काठमाण्डुको ३ लाख रुपैयाँको चेक, ३२ वटा कौडा, ४ बुक तास लगायत बरामद भएको थियो ।
प्रकाशित मिति : November 3, 2019 at 2:37 pm









