१२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026

कास्की २ मा नेकपाबाट विद्या भट्टराई उम्मेदवार, यस्तो छ विद्याको राजनीतिक बिगत

१६ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेकपाकी नेतृ एवं स्वर्गीय रविन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनउने भएको छ । नेकपाको शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कास्की २ मा विद्याको उम्मेदवारी टुंगो लगाएको हो । यद्यपी उम्मेदवारहरूको बारेमा औपचारिक निर्णय भने आइतबार मात्रै हुने नेकपाका  प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यता नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले शनिबारकै बैठकले विद्याको नाममा सहमति जुटाएको बताएका छन । कास्की जिल्ला कमिटीले विद्याको नाममात्र उम्मेदवारको रूपमा सिफारिस गरेको थियो । नेकपा गण्डकी प्रदेश कमिटीले भने विद्याको नाममा थप दुइजनाको नाम थपेर केन्द्रमा पठाएको थियो । गण्डकी प्रदेश कमिटीले सोमनाथ प्यासी र राजकाजी गुरुङको नाम पनि केन्द्रमा पठाएको थियो तर नेकपा सचिवालयमा प्यासी र गुरूङको नाममा कुनै छलफल नै भएन ।

को हुन विद्या ? 

विद्या भट्टराई स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीका जीवन संगिनी हुन् । रविन्द्र तत्कालीन एमालेको भ्रातृसंगठन अनेरास्ववियुको महासचिव हुँदा विद्या सचिव रहेकी थिइन् । यद्यपी रवीन्द्रको राजनीतिक यात्रामा साथ दिन विद्या भने सक्रिय राजनीतिबाट छायाँ परेकी थिइन् । ०४९ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुबाट पद्मकन्याको स्वविययु सभापतिकी प्रत्यासी रहेकी विद्या एकदम निडर महिला नेतृका रूपमा रहेकी थिइन ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल अनेरास्ववियुको अध्यक्ष हुँदा विद्या पहिलो पटक अनेरास्ववियुको केन्द्रीय कमिटीमा पुगेकी थिइन । उनी रवीन्द्र अधिकारी कोषाध्यक्ष हुँदा महिला विभाग प्रमुख रहेकी थिइन । २०५५ सालमा बिहे भएपछि श्रीमानलाइ सजिलो होस् भनेर विद्या राजनीतिबाट क्रमशः निष्क्रिय भएकी थिइन । अनेरास्ववियुको केन्द्रीय सचिवबाट बिदा भएपछि विद्या प्रध्यापन र परिवारको काममा रहेकी थिइन ।

रवीन्द्र र विद्या अनेरास्ववियुको कार्यकर्ताका रूपमा करिब तीन दशकअघि भेटिएका थिए । संगठनमा रवीन्द्र सिनियर थिए । दुवैले लामो समय अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरे । जीवन संगिनीको रूपमा रवीन्द्रलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेकी विद्यालाई उनको निधन पछि रिक्त रहेको क्षेत्रमा नेकपाले प्रतिस्पर्धामा उतारेको छ ।

प्रकाशित मिति : 20:58