नेकपा सांसद गाैतमकाे काेठामा दिनदहाडै चाेर पस्याे, सुनकाे औँठीदेखि चाँदीकाे थालीसम्म चाेरी
१५ कात्तिक, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद राजेन्द्र गौतमको काेठामा दिनदहाडै चाेरी भएकाे छ । सांसद गौतमको काठमाडौँस्थित काेठाबाट बिहीबार दिउँसो नगद तथा गरगहना चोरी भएको हो । काठमाडौँ महानगरपालिका-१० देवीनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका सांसद गौतम संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् । घरको ढोका फोरेर कोठाभित्र रहेको नगद तथा गरगहना चोरी भएको सांसद गौतमले बताए ।

सांसद गौतमका अनुसार २ तोला ५ आना बराबरका सुनका गहना (६ आनाको औठी, ५ आनाको टप, ५ आनाको तिलहरी र १ तोलाको मंगलसुत्र ), चाँदीको २१ तोलाको थाली, २.५ तोलाको दियो तथा नगद एकलाख १५ हजार गरी ३ लाख १९ हजार रुपैयाँ बराबर चोरी भएको हाे । महानगरीय प्रहरी बृत्त तीनकुने र नेपाल प्रहरीको सिआइवी टोलीले बिहीबारै घटनास्थल पुगेर मुचुल्का तयार पारेर आवाश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । सांसद गौतमले तत्काल अनुसन्धान गरी चोर पहिचान गर्नुपर्ने भन्दै शान्ति सुरक्षा थप मजबुत पार्न सुझाव दिए ।
प्रकाशित मिति : November 1, 2019 at 11:47 am







