साढे ७ वर्ष सजायकाे माग गर्दै महराविरुद्ध अदालतमा मुद्दा दायर
१४ कात्तिक, काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि साढे ७ वर्ष सजायकाे माग गर्दै अदालतमा मुद्दा दायर भएकाे छ । जिल्ला अदालत काठमाडौँमा महरालाई उपस्थित गराइएपछि सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा दायर गरेको हो । महरामाथि जबरजस्तीकरणी उद्योग अन्तर्गत मुलुकी अपराध संहिता अन्तर्गत दल २१९ को उपदफा १ र २ बमोजिम सजाय मागदाबी गरिएको छ । जसमा जबरजस्तीकरणी उद्योग र फौजदारी कसुर सजायको माग गरिएको छ । फौजदारी कसूर सजाय अन्तर्गत सोही ऐनको दफा १५ को २ र ३ को ङ अनुसार सजाय माग गरिएको हो ।

जिल्ला अदालत काठमाडौँका सूचना अधिकारीका अनुसार यी दुबै जोडेर साढे ७ वर्ष कैद मागदाबी गरिएको हाे । महरामाथि सचिवालयकी कर्मचारी रोशनी शाहीलाई करणी गर्न खोजेको आरोप छ । महरामाथि अनुसन्धान गरी गत शुक्रबार प्रहरीले कैद तथा जरिवाना हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । गत असोज १८ गते पक्राउ परेका महराविरुद्ध शाहीले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा जाहेरी दिएपछि महरा बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका थिए ।
प्रकाशित मिति : October 31, 2019 at 5:15 pm









