९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

शालिग्राम करिडोरको देवघाट खण्डमा ट्र्याक खुलेपछि स्थानीयवासी हर्षित

–कृष्ण न्यौपाने
१४ कात्तिक, दमौली । करीब रु पाँच करोडको लागतमा शालिग्राम करिडोरअन्तर्गत तनहुँको देवघाट गाउँपालिकाको खण्डमा ट्र्याक खुलेको छ । तीन तहको सरकारको बजेटमा प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटलाई मुक्तिनाथसम्म जोड्ने शालिग्राम करिडोरको देवघाट खण्डमा ट्र्याक खोल्ने काम सम्पन्न भएको हो ।

ट्र्याक खन्न शुरु गरेको ६० वर्षमा शालिग्राम करिडोरको देवघाट खण्ड पूर्ण भएको छ । करिडोरको देवघाट गाउँपालिकाअन्तर्गत बन्चरेभिरको पहाड काट्न देवघाट गाउँपालिकाले रु दुई करोड, प्रदेश सरकारले रु दुई करोड र सङ्घीय सांसदले रु ७० लाख बजेट विनियोजन गरेका थिए । देवघाट गाउँपालिका–१ मा करिडोरको सबैभन्दा जटिल भाग रहेको बन्चरेभिरमा ट्र्याक खुलेसँगै गाउँपालिकाका पर्ने ४० किमी खण्ड सडक सञ्जालसँग जोडिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो ।

“तीन तहको सरकारको लगानीमा देवघाट खण्डमा ट्र्याक खुलेसँगै गाउँपालिकाको पाँचवटै वडा सडक सञ्जालसँग जोडिएको छ”, अध्यक्ष थापाले भन्नुभयो । करिडोरको निर्माणपछि देवघाट र मुक्तिनाथ सडक सञ्जालले जोडिने र दुवै धार्मिक क्षेत्रमा पर्यटकहरु आवतजावत गर्न सहज हुने विश्वास लिइएको अध्यक्ष थापाले बताउनुभयो । “करिडोरको ट्र्याक खुलेसँगै केही दिनभित्रै उक्त खण्डमा सवारी सञ्चालन गर्ने तयारी भएको छ”, उहाँले भन्नुभयो, “यसले सर्वसाधारणलाई राहत हुनेछ ।”

गण्डकी प्रदेशको शिरदेखि अन्तिमसम्म जोड्ने उक्त करिडोरलाई प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा समावेश गरेको थियो । चितवनको दासढुङ्गाबाट तनहँुको देवघाट हुँदै कालीगण्डकी नदीको तिरतिरै मुक्तिनाथसम्म जोड्ने उक्त करिडोरको स्याङ्जा र पाल्पाको सिमाना केलादी घाटसम्म ट्र्याक पूरा भइसकेको छ ।

सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले लामो समयको प्रयासपछि देवघाट खण्डको ट्र्याक पूरा भएको बताउँदै यसका लागि आफूले प्राविधिक र निर्माण व्यवसायीलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएको बताउनुभयो । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शालिग्राम करिडोर प्रदेशको गौरवको आयोजनाको रुपमा रहेकाले करिडोर निर्माणका लागि बजेटको अभाव नहुने बताउनुभयो ।

करिडोरको देवघाट खण्डमा गाडी गुड्न थालेपछि यहाँका स्थानीयवासी हर्षित छन् । ट्र्याक खनिएपछि पहिलोपटक गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाको नेतृत्वमा खाल्टेसम्म गाडी गुडाइएको छ । करिडोर हुँदै खाल्टेसम्म गाडी चल्न थालेपछि स्थानीयवासी हर्षित भएको राम वंशीले बताउनुभयो । “यहाँको बाटोमा गाडी गुड्ला र जस्तो लाग्थ्यो”, उहाँले खुशी हुँदै भन्नुभयो, “यस ठाउँमा गाडी गुडेको हेर्ने रहर अहिले आएर पूरा भएको छ ।” यस ठाउँमा गाडी गुड्ने भएपछि गाउँपालिकाको कार्यालय तथा चितवन र नवलपुरसम्म आवातजावातमा सहजता हुने वंशीले बताउनुभयो ।

प्रकाशित मिति : October 31, 2019 at 8:47 am